११ भाद्र २०७८, शुक्रबार

वीरगन्ज । पर्साका क्रियाशील पत्रकारहरुले मुलुकमा प्रादेशिक संरचना आएदेखि सञ्चारकर्मीहरुले अनावश्यक झनझटको सामना गर्नु परेको गुनासो पोखेका छन् ।

पत्रपत्रिका सञ्चालन गरिरहेका व्यवसायिक पत्रकारहरुले विज्ञापनदेखि लोक कल्याणकारी विज्ञापनवापतको भुक्तानी पाउनका लागि अस्थायी राजधानी जनकपुरमा जाँदा त्यहाँका कर्मचारीले अनावश्यक दुःख दिने गरेको गुनासो पोखे ।

रेडिया वीरगन्ज परिसरमा आयोजित आन्तरिक मामिला तथा सञ्चारमन्त्री एवं पत्रकारबीचको भेटघाट कार्यक्रममा पर्साका क्रियाशील पत्रकारहरुले मन्त्रालयलगायत सरकारी निकायबाट पाउने विज्ञापन जनकपुरबाहिरका सञ्चार सँस्थाहरुले नपाउने गरेको भन्दै साना तिना विज्ञापन प्रकाशित गरेपति त्यसवापतको भुक्तानी पाउन वर्षौ लाग्ने गरेको बताए ।

मुख्यमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयले सञ्चार सँस्थाहरुलाई दिने गरेको सूचना त्यहाँका सञ्चारकर्मीहरुको सिन्डिकेटमा जनकपुर बाहिरका पत्रपत्रिकाहरुको पहुँचसम्म पुग्न नसकेको उनीहरुले गुनासो पोखे ।

यसैगरी कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले पर्सामा पत्रकार महासंघले पनि पार्टीगत हिसाबले सञ्चारकर्मीहरुमाथि भेदभाव गर्दै आएको बताए ।

कार्यक्रममा रेडियो वीरगंज एवं टिभी बीरगन्जका कार्यकारी अध्यक्ष ध्रुव साहले पर्सामा पत्रकार महासंघको नेतृत्वले सञ्चारकर्मीहरुलाई विभेद गर्दै आएको बताए । नेपाल पत्रकार महासंघ सम्पूर्ण पत्रकारहरुको साझा सँस्था रहेतापनि पार्टीगत मनसायले सञ्चारकर्मीहरुमाथि विभेद हुने गरेको बताए ।

कार्यक्रमलाई सम्बोधद गर्दै प्रमुख अतिथि समेत रहेका प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले सञ्चार क्षेत्रमा देखिएका समस्यालाई व्यवस्थित रुपमा हल गर्दै पत्रकारको क्षमता अभिबृद्धिका लागि आगामी दिनमा मन्त्रालयले ठोस कदम चाल्ने बताए । मन्त्री साहले रौतहटको घटनाले पत्रकारको सुरक्षाप्रति पनि चुनौति थपिएको भन्दै यसप्रति राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको बताए ।

उनले समानुपातिक रुपमा विज्ञापन वितरण नगरेर विगतमा आफ्ना आसेपासे, निकटका व्यक्ति तथा दलाली गर्नेलाई मात्र विज्ञापन दिने प्रथालाई आपूmले तोडेर आवाज विहिन जनताको पक्षमा आवाज उठाउने मिडियालाई विज्ञापन दिने नीति अवलम्वन गरिने बताए ।

प्रदेश २ मा धेरै संचारमाध्यम संकटमा परेको आफूले देखेको भन्दै अब प्रदेशमा आवश्यकता अनुसार चल्ने सक्ने पूर्वाधार भएका छापा तथा रेडियो, टिभीलाई मात्रै संचालनको अनुमति दिने नीति ल्याईने बताए ।

मन्त्री साहले च्याउ उम्रिएझै खुलेका मिडियाहरुलाई व्यवस्थित गर्न प्रदेश सरकारले मिडिया काउन्सिलमार्फत काम गर्ने बताए । उनले विगतमा के भयो, भन्ने तर्फ भन्दा अब के गर्नु पर्छ भन्ने तर्फ आफू लागेको बताए ।

कार्यक्रममा नेकपा माओवादीका प्रदेश नम्बर २ का इन्चार्ज गोपाल ठाकुर, माओवादी नेता छोटेलाल साह, तेली कल्याण समाज पर्साका पदाधिकारी तथा सदस्य, संचारकर्मीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV