११ भाद्र २०७८, शुक्रबार
  • हरिशंकर शर्मा

बारागढी (बारा) । बारा जिल्लाको बारागढी गाउँपालिका–१ स्थित श्री जनता माध्यमिक विद्यालय बुद्धगाईंमा छात्राहरुलाई वितरण गर्न प्राप्त साइकल शिक्षकहरुले बाँडफाँड गरेका छन् ।

प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत छात्राहरुलाई वितरण गर्नका लागि प्रदेश सरकारबाट प्राप्त साइकलमध्ये ६ वटा साइकल त्यस विद्यालयका शिक्षकहरुले बाँडेको तथ्य बाहिरिएको छ ।

गत आर्थिक वर्षमा कक्षा ८÷९ मा अध्ययनरत छात्राहरुलाई वितरण गर्न ८ सय वटा साइकल प्रदेश सरकारबाट प्राप्त भएको थियो । उक्त साइकलमध्ये ६ वटा साइकल वितरण नगरी विद्यालयमा कार्यरत ६ जना शिक्षकहरुले बाँडफाँड गरी लगेको बताइएको छ ।

विद्यार्थीहरुको नामावली संकलन गरी साइकल माग गर्नुपर्नेमा अध्ययनरत छात्राहरुभन्दा बढी अन्य बालिकाको नाम पठाएर विद्यालयले साइकल माग गरेको थियो । वितरण पश्चात बाँकी रहेका ६ वटा साइकल विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकदेखि लेखामा कार्यरत कर्मचारीहरुले बाँडेको पाइएको हो ।

यसबारे विद्यालयका प्रधानाध्यापक विश्वनाथ चौधरीले साइकल वितरण गर्दा बखत आफू यस विद्यालयमा प्रधानाध्यापक नरहेकोले त्यो आफ्नो सरोकारको विषय नभएको भन्दै अहिलेसम्म खोजतलास समेत नगरेको बताए ।

यता विद्यालयका लेखा कर्मचारीले आफूलगायत ६ जना शिक्षकहरुले साइकल लगेको स्वीकारेका छन् । तत्कालीन प्रधानाध्यापक विरेन्द्र चौधरीले आफ्नो पालामा साइकल वितरण गरिएको तर ६ वटा छात्राहरुले साइकल लिन नआएको कारण त्यही विद्यालयमा राखेर आफू सरुवा गराएर अन्यत्र गएको बताए ।

प्रदेश सरकारले बेटी पढाऔं, बेटी बचाऔं अभियान अन्तर्गत छात्राहरुलाई विद्यालयप्रति आकर्षित गर्न साइकल वितरण गर्दै आएको छ तर, त्यहाँ कार्यरत शिक्षकहरुको गिद्धे नजरले उक्त अभियानमा पनि प्रश्न चिन्ह खडा भएको छ ।

यसबारे प्रदेश नं. २ का मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवले गत वर्ष साइकल वितरणमा अनियतता भएको गुनासोहरु आएपछि यस वर्षको साइकल वितरणमा कडाई गरिएको बताए । यस वर्ष छात्राहरुको नामावली संकलन गर्ने क्रममा छात्राको जन्मदर्तादेखि अभिभावकहरुको परिचयपत्रलगायतको कागजातहरु लिएर वितरण संकलन गरिएको बताए ।

उक्त विद्यालयले यसवर्ष पनि ९ सय साइकल प्रदेश सरकारबाट माग गरेर वितरण गरेको छ । यसवर्ष छात्राहरुलाई सामुदायिक विद्यालयप्रति आकर्षित गर्नका निम्ति गाउँपालिकाले पनि उक्त विद्यालयमा साइकल वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV