११ भाद्र २०७८, शुक्रबार

नेपालगञ्ज । बाँकेको विभिन्न स्थानमा बाढीको सामान्य असर देखिएको छ । नेपालगञ्ज गुलरिया सडक खण्डको खजुरामा पेडारी नालामा आएको बाढीले आवज–जावतमा कठिनाइ भएको हो ।

राप्तीसोनारी गाउँपालिको वडा नं ३, ४ र ५ मा नालाबाट आएको पानीले १० घर भत्किएको छ । त्यस्तै डुडुवा गाउँपालिकाको डुडुवा नालाबाट आएको पानीले केही घर डुवानका परेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना ब्यबस्थापन अधिकृत रुपन ज्ञवालीले जनाएका छन् ।

उनले दिउसो १ बजे बाढी मापन केन्द्र कुशुममा ३ मिटर ५० सेन्टिमिटर पानीको सतह मापन भएको बताए । साथै ५ मिटर भन्दा माथि पानीको सतह भए खतरा हुने भएकाले हाल खतराको अवस्था नरहेको उनले बताए ।

यसैगरी खजुरा गाउँपालिकाको सिमलघारीमा जेठीनालाबाट आएको पानीले केही घरमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय धनौली जनाएको छ । जिल्लाका विभिन्न स्थानबाट बाढीले पारेको असरको तथ्यांक आउने क्रम जारी रहेको जिल्ला विपत् ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV