११ भाद्र २०७८, शुक्रबार

काठमाडौं । ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायर, बिश्व ब्याडमिन्टन महासंघका सर्टिफाइड लाइनजज एवं राष्ट्रिय रेफ्री उदय कुमार अर्याललाई खेतान स्पोर्टस् फाउण्डेशनले ब्याडमिन्टनमा पु¥याएको योगदानको कदर गर्दै कदरपत्रसहित बिदाई गरेको छ ।

निर्णायक अर्याललाई शुक्रबार एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले फाउण्डेशनको तर्फबाट प्रदान गरिएको कदरपत्र प्रदान गरे ।

सो अवसरमा अर्याललाई फाउण्डेशनका प्रमुख बिकास खेतान, अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीलगायतले जापानमा आयोजना भएको पारालम्पिक प्रतियोगितामा निर्णायकको भूमिकामा सहभागिता जनाउन लागेकोमा सफलताको शुभकामनासहित खादा लगाएर विदाई गरेका थिए ।

अर्याल पारालम्पिकमा ब्याडमिन्टनको लाईनजजको भूमिका निर्वाह गर्न शनिबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । अर्यालले यस अघि पोल्याण्डको क्याटोविचमा २०१९ मा आयोजना भएको बिश्व सिनियर ब्याडमिन्टन च्याम्पियनसिप र हङ्गकङ्गमा अप्रिल २०१९ मा आयोजना भएको ब्याडमिन्टन एशिया मिक्स टिम च्याम्पियनशीपमा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

ओलम्पिकमा लाइन जजको भूमिका निर्वाह गर्ने अर्याल दोश्रो निर्णायक हुन् । यसअघि रियो ओलम्पिकमा ब्याडमिन्टन एशियाका अम्पायर दीपक थापाले लाइनजजको भूमिका निर्वाह गरि सकेका छन् । सायद ओलम्पिक जस्तो ठूलो प्रतियोगितामा नेपालबाट निर्णायकको भूमिका निर्वाह गर्ने थापा र अर्याल मात्र हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV