११ भाद्र २०७८, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले जिल्ला सभापतिहरूले उठाएका मागहरूको सम्बोधनपछि एकैदिन अधिवेशन गराउन दवाब दिने निर्णय गरेको छ ।

शुक्रबार प्रकाशमान सिंहको ‘चाक्सीबारीस्थित’ निवासमा बसेको पौडेल पक्षको बैठकले जिल्ला सभापतिहरुको माग सम्बोधन गरेर मात्रै अधिवेशन गर्न पार्टीलाई सुझाव दिने निष्कर्ष निकालेको हो ।

बैठकले सम्पूर्ण समस्याहरुलाई समाधान गर्दै ६ हजार ७४३ वटै वडामा एकै दिन अधिवेशन गराउनु पर्ने पक्षमा जोड दिन सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गर्ने निर्णय गरेको बताइएको छ ।

देउवाले जिल्ला सभापतिहरुको मागप्रति चासो नदेखाई ३८ जिल्लाका मात्रै क्रियाशील सदस्यताको नामावली निकालेर निर्वाचन प्रक्रियामा लागेको भन्दै असन्तुष्टि जनाइ रहेका छन् ।

क्रियाशील सदस्यताको नामावली सच्याउनु पर्ने र जिल्ला सभापतिको उम्मेदवार बन्नका लागि तोकिएका मापडण्डहरुलाई एकरुपता दिनुपर्ने लगायतका मागहरु जिल्ला सभापतिहरुले माग राखेका छन् ।

३८ जिल्लामा मात्रै अधिवेशन गरेर अन्य जिल्लामा भने अधिवेशन अन्योल हुनसक्ने पौडेल पक्षका नेताहरुको शंका छ । बैठकमा सहभागी सबैजसो नेताहरुले १८ भदौमै वडा अधिवेशन गर्नका कठिनाइ हुने भएकाले त्यसलाई समाधान गरेर अधिवेशनको सुनिश्चितता गर्न दवाव दिने पक्षमा बोलेका थिए ।

पौडेल पक्षका नेताहरुले आजको निर्णयहरुबारे आजै साँझ देउवा निवासमा पुगेर ध्यानाकर्षण गराउने पनि बताइएको छ ।नेपाली काँग्रेसले सबै तहका अधिवेशन सम्पन्न गरेर आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV