११ भाद्र २०७८, शुक्रबार

चितवन । माडीको मगोई खोलामा आएको बाढीका कारण पुल ढलानको लागि तयार गरिएको सेन्टिङ्ग बगाउँदा करिब १० लाख बराबरको क्षति भएको छ ।

ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले दिएको जानकारीअनुसार बिहीबार रातिदेखि लगातार परेको पानीका कारण आज (शुक्रबार) बिहान करिब ६ बजेतिर मगोई खोलामा बाढी आएको हो ।

लोहनी कन्स्ट्रक्सनले बिगत २ वर्षदेखि बनाउन सुरु गरेको पुलको २ वटा स्ल्याब बनिसकेको र तेस्रो स्ल्याबको ढलानको लागि सेन्टिङ्ग गरेर तयारी गरेको भए पनि बाढी आएसँगै सबै सेन्टिङ्गका सामग्रीहरु बगाएको हो ।

पौडेलले सो खोलाले नजिकै रहेको विद्युतको पोल भएको स्थानतर्फ पनि बाढीले कटान सुरु गरेपछि अहिले बिद्युत लाइन पनि काटिएको जानकारी दिए ।

अहिले माडीका रिउ, परेउ, घागर, पतेरे, बगर खोला लगाएतका ठाडो खोलामा पानीको सतह बढी रहेको र सबैलाई सतर्क रहन भनिएको पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV