११ भाद्र २०७८, शुक्रबार

एजेन्सी । इंग्लिस क्लब चेल्सीका इटालियन मिडफिल्डर जर्गिन्हो युइएफए वर्ष खेलाडी बनेका छन् । म्यानचेस्टर सिटीका केभिन डि ब्रुएन र आफ्नै सहकर्मी फ्रान्सेली एङ्गोलो कान्टेलाई पछि पार्दै उनी युइएफए वर्ष खेलाडी बनेका हुन् ।

युइएफएले २०२०–२१ सिजनको वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयन सार्वजनिक गर्दा पहिलोपटक तीन जना नै मिडफिल्डर पर्न सफल थिए । यो अवार्डको लागि युईएफएले एक सिजन भर खेलाडीले गरेको प्रदर्शनलाई मापन गर्दै छनोट गर्ने गर्दछ ।

जर्गिन्होले १७५ मत पाए । केभिन डि ब्रुएनले १६७ तथा कान्टेले १६० मत पाए । यो अवार्डको लागि २४ राष्ट्रका प्रशिक्षक, च्याम्पियन्स लिगका ३२ र युरोपा लिगको ४८ प्रशिक्षक, युरोपियन स्पोर्ट्स मिडिया (इएसएम)का ५५ जना खेल पत्रकारको मतबाट खेलाडी छनोट गर्ने गरिन्छ । एकै क्लब तथा राष्ट्रका प्रशिक्षकले आफ्नै खेलाडीलाई मत दिन पाइनेछैन ।

इटालीका जर्गिन्हो एकै वर्षमा च्याम्पियन्स लिग र युरोपेली च्याम्पियनसिप जित्ने १०औं खेलाडी बनेका थिए। उनले चेल्सीबाट च्याम्पियन्स लिग तथा इटालीबाट युरोकप जितेका थिए ।

वर्ष प्रशिक्षक भने चेल्सीका थोमस टुचेल बनेका छन् । त्यस्तै गोलरक्षक चेल्सीका इडुआर्ड मेन्डी, डिफेन्डर म्यानचेस्टर सिटी रुवेन डियास, मिडफिल्डर चेल्सीका एङ्गोलो कान्टे र डर्टमुन्डका एर्लिङ ब्राउट हालान्ड वर्ष फरवार्ड बनेका छन् ।

महिलातर्फ भने सबै अवार्ड बार्सिलोनाले जितेको छ । एलेक्सिया पुटेलास महिला वर्ष खेलाडी बनेकी छन् । महिला प्रशिक्षक लुइस कोर्टलेस, महिला गोलरक्षक सान्द्रा पानोस, महिला डिफेन्डर इरेने पारेडेस, महिला मिडफिल्डर एलेक्सिया पुटेलास र महिला फरवार्ड जेनिफेर हर्मोसो बनेकी छन् ।

युइएफए अवार्ड

युइएफए वर्ष खेलाडी – जर्गिन्हो (चेल्सी/इटाली)
वर्ष प्रशिक्षक – थोमस टुचेल (चेल्सी)
पुरुष गोलरक्षक – इडुआर्ड मेन्डी (चेल्सी/सेनेगल)
पुरुष डिफेन्डर – रुवेन डियास (म्यानचेस्टर सिटी/पोर्चुगल
पुरुष मिडफिल्डर – एङ्गोलो कान्टे (चेल्सी/फ्रान्स)
पुरुष फरवार्ड – एर्लिङ ब्राउट हालान्ड (डर्टमुन्ड/नर्वे)
महिला वर्ष खेलाडी – एलेक्सिया पुटेलास (बार्सिलोना/स्पेन)
महिला प्रशिक्षक – लुइस कोर्टलेस (बार्सिलोना)
महिला गोलरक्षक – सान्द्रा पानोस (बार्सिलोना/स्पेन)
महिला डिफेन्डर – इरेने पारेडेस (बार्सिलोना/स्पेन)
महिला मिडफिल्डर – एलेक्सिया पुटेलास (बार्सिलोना/स्पेन)
महिला फरवार्ड – जेनिफेर हर्माेसो(बार्सिलोना/स्पेन)

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV