११ भाद्र २०७८, शुक्रबार

काठमाडौं । ‘जता मल्खु उतै ढल्कु’ । यस्तै भयो प्रदेश सरकारहरुको हालत । संघीय सरकारमा देखिएको परिवर्तन र प्रभावको असर प्रदेशमा पनि देखियो । एक समय सातवटै प्रदेशमा बाम गठबन्धन अर्थात तत्कालीन सत्तारुढ नेकपाको सहमतिको वर्चश्व रोपियो । हुन त बाम बर्चश्व कायम छ धेरै ठाउँमा । तर यसबीचमा नेपाली काँग्रेसले पनि जबर्जस्ती उपिस्थिति जनाएरै छाड्यो । गण्डकीमा उस्कै नेतृत्व स्वीकार्य भयो भने धेरै प्रदेशमा सरकार मिलिजुली बन्यो । परिवर्तन स्वभाविक हो भनिएला तर संघीयताको विरुवा रौपिदै गरेको समयमा यो प्रवृति संघीयताका लागि नै घातक बन्ने सम्भावना पनि चुँलिदो छ । यसतर्फ सत्ता उन्मादमा लागेकाहरुको ध्यान भने कतैबाट गएको पटक्कै देखिएन् ।

संघीयता सुरु भयो नेपालमा तर त्यस्लाई हुर्काउने संस्कार भने सुरु हुन सकेन । प्रदेशका प्रमुखहरु साढे तीन बर्षको दौरानमा चार पटक फेरिए । प्रदेश प्रमुखको त कुरै जावस अब मुख्यमन्त्रीहरु पनि कोही स्थायी बन्न सकेनन् । जस्ले गर्दा प्रदेश सरकार नै अस्थिरताको मारमा पर्न पुगेका छन् । धेरै कुना र कोणबाट संघीयतामाथि अनेकौं प्रश्न उठन थालेको बेला प्रदेश सरकारहरुको पारा स्वभाविक होइन अस्वभाविक बन्दै गएको छ । प्रदेश एकमा शेरधन राईको सट्टा भीम आचार्य आए । लामोसमय माधवकुमार नेपालको निकट रहेर नेतागिरी गरेका आचार्य केपी शर्मा ओलीतिर लागे लगत्तै पुरस्कार स्वरुप पाए – प्रदेश एकको मुख्यमन्त्री पद । तर उनको यो यात्रा कति दिनको हो त्यो भन्न कठिन झै देखिएको छ । नेपाललाई त्यागेर आचार्य ओलीतिर त लागे तर प्रदेश एकका कति सांसदले नेपाललाई नत्याग्ने हुन् ? त्यो इमान्दारितामा आचार्यको भाग्य सुनिश्चित हुनेछ ।

गत साता बागमती प्रदेशमा पनि यस्तै खेल देखियो । अष्टलक्ष्मी शाक्यले मुलुककै पहिलो महिला मुख्यमन्त्री बन्ने अवसर पाइन । तर उनको भाग्य पनि कति दिनको हो त्यो अझै सुनिश्चित हुन सकेको छैन् । आफुलाई ओली र नेपाल दुबैको आर्शीवाद रहेको बताउन थालेकी अष्टलक्ष्मीको क्याम्प परिवर्तनको अर्थ कतिको स्थायी हुनेछ त्यो पनि चाँडै छिनोफानो हुने छ नै । जोसुकै हुन अर्थात जोसुकै बनुन प्रदेशका प्रमुखदेखि लिएर मुख्यमन्त्रीसम्म । तर यहाँ जस्ले जिते पनि हार्दै गएको संघीयताको मर्मतिर भने अब कस्ले ध्यान दिने ?

प्रदेश सरकारलाई संघ र स्थानीय तहबीचको पुलको काम गर्ने सम्बन्ध सेतुकोरुपमा व्याख्या गरियो । हुन पनि संघीयताको मर्म, धर्मको प्रवाह र प्रभाव विस्तार गर्ने मुख्य खम्बाकोरुपमा प्रदेशलाई उभ्याइयो । तर यही खम्बा, यही जग र यही स्तम्भमा गरिएको बारम्बारको प्रहारले अब प्रदेशबाट कस्तो अपेक्षा राख्ने ? एक त संघीय सरकारले अधिकार कम दिएर हरेक मुद्दामा आफुमाथि प्रदेश सरकारलाई निर्भर राख्ने जुन नीति लियो,त्यहीबाट नै संघीयताको जग बलियो बन्ने संकेत देखिएन । संघीय सरकार र स्थानीय सरकार त बर्षौदेखि थिए तर प्रदेश सरकार त पहिलो पटक गठन भएका थिए । यस्तो अवस्थामा संघीय सरकारले धेरै अर्थमा उदार बन्नु पर्ने थियो प्रदेश सरकारका लागि । तर दुर्भाग्य केन्द्रीय सरकार प्रदेशप्रति अनुदार र उदासिन बन्दा यस्को असर दुरगामीरुपमा पर्ने निश्चित छ ।

केही पर्यो केन्द्रमा नै धाउनु पर्ने, केही भए काठमाडौं नै कुदिहाल्ने गरि जुन बानी प्रदेशका मुख्यमन्त्रीहरुमा बसाइयो । त्यो बास्तवमा घातक नै भयो प्रदेशका लागि । मुख्यमन्त्री र मन्त्रीहरुलाई केन्द्रमा होइन उनीहरुको प्रदेशको गाउँगाउँसम्म कुँदाउने बानी बसालिनु पथ्र्यो । तर त्यसो केही भएन भन्दा पनि हुने भयो अब । केन्द्रको राजनीतिमा देखिएको ठाडो असरको शिकार प्रदेश नै बन्यो । संघमा देखिएको गडबडीको प्रभाव पनि प्रदेशले नै भोग्नु पर्यो ।

मुलुक संघीय स्वरुपमा गएपछिको पहिलो सरकारको रुपमा रहेका प्रदेश सरकारलाई हुनुपर्ने न्यूनतम व्यवहार पनि संघबाट पटक्कै भएन । मुलुकको राजनीति र आम जनताको भोगाईमा पहिलो अनुभूति बनेको प्रदेश सरकारलाई न उस्को मर्म अनुसार हुर्कन दिइयो नत अगाडि बढ्न नै दियो । धेरै विषयमा सहमति खोज्ने सत्ता र प्रतिपक्षहरु यही विषयमा भने एकैठाउँ नउभिदा प्रदेश सरकारहरुको हालत अहिले जुन ठाउँमा छ, त्यो उस्का लागि नत संघीयताका लागि नै न्यायोचित मानिएको छ । प्रदेशको सत्ता स्थिरताका लागि मात्र भएपनि अलिकति सोचिएको भए, यस्को प्रभाव दुरगामीरुपमा प्रभावकारी हुने प्रष्ट नै थियो । तर एक एक गरि प्रदेश सरकारलाई यसरी निरीह पारियो । जस्ले गर्दा शेरधरको ठाउँमा भीम आउन कि डोरमणिको ठाउँमा अष्टलक्ष्मी पर्ने प्रभाव त प्रदेशको मर्ममा नै हो । यो ख्याल गरे हुन्छ दलहरुले । यो विषय ख्याल ख्यालको भने होइन ।

प्रदेशको पाटोको यो चर्चासंगै जनवादी गायक जेबी टुहुरेप्रति भावपूर्ण श्रद्धाञ्जली । तीसको दशकमा नेपाली समाजमा जनपक्षीय गीतहरुमार्फत नेपाली महिलाहरुको समानताको पक्षमा आगो ओकल्ने तीनै जनप्रिय गायक अब रहेनन् । ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई सुखको सधै प्यासी बनेर’ यही कालजयी गीत नेपाली समाजलाई छोेडेर गएका टुुहुरेलाई नेपाली समाजले पनि सम्झिरहने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV