११ भाद्र २०७८, शुक्रबार

काठमाडौँ । दक्ष जनशक्तिको अभावमा जनकपुर-जयनगर चल्ने रेल थन्किएको एक वर्ष पुग्न लाग्यो । रेल चलाउने कुनै सुरसार समेत नहुँदा त्रिपालले छोपेर राखिएको रेल कामविहीन बनेको छ । नयाँ रेल चढ्ने र त्यही रेलले नेपालमा रेल यात्राको नयाँ युगको सुत्रपात गर्ने उद्घोष समेत गरियो । तर बिडम्बना रेलका चालक आजसम्म भेटिएका छैनन् ।

रेलका चालक नभेटिए पनि रेल गुडाउँने नीति बनाउने र रेखदेख गर्ने नियामक निकाय नेपाल रेल्वे कम्पनीले नयाँ हाकिम भेटेको भने एक साता वितिसकेको छ । निर्वाचनमा आयोगमा बुधबार दर्ता भएको नयाँ दल नेकपा एकीकृत समाजवादी निकट अर्थात माधवकुमार नेपाल समूहका युवा संघ उपाध्यक्ष निरञ्जन झा रेल्वे कम्पनीका नयाँ महाप्रबन्धकमा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद् वैठकले नियुक्त गरेकोको भोलिपल्टै अर्थात गत भदौ ४ गते शुक्रबार झाले रेल्वे कम्पनीको आफ्नो सुविधाको गाडी लिएर हिडेपनि आजसम्म कार्यालय उपस्थित भने भएका छैनन् । कम्पनीका कर्मचारी हरेक दिन समयमा नै कार्यालय पुगेर नयाँ हाकिम साबको प्रतीक्षामा बस्छन् । तर उनीहरुको प्रतीक्षा हरेक दिन बेकार हुने गरेको छ ।

हाकिम नै देख्न नपाउँदा कर्मचारी अलमलमा

सरकारले गत भदौ ३ गते विहीबार रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले राजबिराजका झालाई रेल्वे कम्पनीको महाप्रबन्धक नियुक्त गरेसंगै जयनगर–जनकपुर–कुर्था रुटमा कुँदाउन तयार पारिएको रेलले गति लिने अपेक्षा समेत गरिएको छ । तर महाप्रबन्धक झा नियुक्ति पाएदेखि अहिलेसम्म कार्यालयमा हाजिर समेत हुन गएका छैनन् ।

निवर्तमान महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएपछि एकसाता पनि रेल्वे कम्पनीको नेतृत्व रिक्त रहेन । तर नियुक्ति पाएको साता दिन वितिसक्दा पनि नवनियुक्त महाप्रबन्धक झाले भने कार्यालयमा पाइला समेत राखेका छैनन् ।

कता व्यस्त होलान नयाँ महाप्रबन्धक ?

हरेक संस्थान र कम्पनीमा राजनीतिक नियुक्ति नौलो होइन । नेपालमा यो अब प्रचलन नै भइसक्यो । माधवकुमार नेपालले दर्ता गरेको नेकपा एकीकृत समाजवादीको भातृसंस्था युवा संघका उपाध्यक्ष झा रेलको बारेमा कतिको जानकार हुन त्यो विषयमा पनि कुनै जानकारी कर्मचारीले पाउन सकेका छैनन् । तर उनले नियुक्ति लगतै आफ्नो पहिलो काम नै जयनगर–जनकपुर–कुर्थामा रुटमा सञ्चालन गर्न ठीक पारिएको रेल गुडाउँने लक्ष्य भएको बताएका थिए । तर रेल्वे कम्पनीका कर्मचारीले नै अहिलेसम्म उनलाई भेट्न समेत पाएका छैनन् ।

धेरै व्यक्तिहरु नियुक्तिलगत्तै पदमा विराजमान हुन हतारिन्छन् तर महाप्रबन्धक झा कता छन कम्पनीका कर्मचारी कसैलाई पनि थाहा छैन ।
कार्यालयमा उपस्थित नभएको विषयमा ध्यानाकर्षण गराउँन खोज्दा महाप्रबन्धक झाले कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको बताएका छन् । तर कार्यालयमा यो दिन आउछु भन्ने समेत कुनै जानकारी नदिदा सबै तहका कर्मचारी भने अन्योलमा छन् ।

उनले महाप्रबन्धकको सुविधा बापतको सवारी साधन लिए पनि कार्यालयमा हाजिर नहुनुलाई भने कर्मचारीले नै उदेक मानेर हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV