११ भाद्र २०७८, शुक्रबार

मनाङ । जलवायु परिवर्तनको असरका कारण नेपालको हिमाली क्षेत्रहरुमा अस्वभाविक परिवर्तनहरु देखिन थालेका छन् । सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने ती हिमाली वस्तीहरुमा यसपटक दर्केको पानीले त्यस क्षेत्रका वासिन्दाले कहालीलाग्दो र अत्यासपूर्ण अवस्थाको सामना गरे । गत असारको पहिलो साता मनाङ र मुस्ताङमा भएको बर्षा र त्यो बर्षाले निम्त्याएको ताण्डवले वातावरणविद्हरुलाई समेत आश्चर्यमा पारेको छ ।

मनाङमा पछिल्लो समय गत असार १ गते आएको बाढीका कारण गाउँहरू नै डुबानमा परी बगरमा परिणत भएका छन् । जिल्लाको नासों गाउँपालिका–१ ताल गाउँ बगरमा परिणत भएसँगै त्यहाँका ५९ घरपरिवार विस्थापित बनेका छन् । जस्को पुर्नवासका लागि अझै पनि गतिलो प्रयास हुन सकेको छैन् । वस्ती नै सार्नु पर्ने अवस्था देखिए पनि यसतर्फ पनि गम्भीर भएर कुनै पनि निकायले सोचेको देखिँदैन ।

२०५२ सालपछि पहिलोपटक बाढीको अनुभूति

२०५२ सालमा बाढीको पहिलो अनुभूति गर्न पाएका मनाङवासीले यसपटक बाढीको वितण्डा र महाविपत्ति नै भोगे । मनाङको ताल गाउँमात्र नभइ चामे, धारापानीलगायत स्थानमा सरकारी कार्यालयसहित घरहरू डुबानमा पर्दा ठूलो क्षति व्यहोर्नुपरेको छ । बाढीले चामे गाउँपालिका–१ तिमाङ खोलाको बेली ब्रिजसहित यहाँका १६ वटा झोलुङ्गे पुल, ८ देखि १० वटा काठेपुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या परेको छ ।

दुई महिनादेखि त्रिपालमुनि वास

बाढीले घरगोठ बगाएपछि दुई महिनादेखि त्रिपालमुनि बस्दै आएका तालबासी पुर्नबासको प्रतीक्षामा छन् । नासों गाउँपालिका–१ तालगाउँ अविरल वर्षापछि मस्र्याङ्दी नदीमा आएको बाढीले पुरै गाउँ डुबाएपछि बगरमा परिणत भएको छ । बाढीका कारण सोगाउँका ५९ घरपपिरवार पूर्णरुपमा विस्थापित भएका छन् । मरुभूमि बनेको गाउँ हेर्दै ताल गाउँका बासिन्दा पुर्नवास कहिले होला भन्दै प्रतीक्षा गर्न विवश छन् । बगर बनेको स्थानमा बस्ती बसाल्न सुरक्षित रहेको छैन । बाढीले गाउँ नै बगर बनेपछि पुर्नवासको आशामा बस्दा बस्दै आशा निराशामा परिणत हुने हो कि भन्ने चिन्ता बढेको स्थानीयवासीको गुनासो छ ।

कहाँ जाने भन्ने पिरलो 

विपत्तिमा परेकाहरुलाई तत्काल खाना र बस्नलाई विभिन्न संघसंस्था र ब्यक्तिहरुले सहयोग गरेको भएपनि अवको बास कता हुने र कहिले हुने भन्ने चिन्ता थपिएको छ । दिनभर भत्किएको घर हेर्दै त्रिपालमुनि बस्दै आएका यहाँका मानिसलाई अब कहाँजाने भन्ने पिरलो पनि उत्तिकै छ ।

पुनः वस्ती बसाल्न कठिन : स्थानीय प्रशासन

अप्रत्याशितरुपमा यसपटक परेको अविरल वर्षाले मनाङ जिल्लाको धेरै भाग बाढी पहिरोको चपेटामा परेको छ । यहाँको ताल गाउँमात्रै नभइ जिल्लाका धेरै स्थानमा पुनः बस्ती बसाल्न सक्ने अवस्थामा नरहेको स्थानीय प्रशासनले जनाएको छ ।

एकातिर बाढीको वितण्डामा परेकाहरुलाई पुर्नवासको समस्या भइरहेको समयमा भौगोलिक प्रभाव पनि बर्षाले देखाउन थालेको छ । बर्षा बढी हुन थालेपछि बर्षा बढी भएको स्थानमा स्याउ खेती पनि घट्दै गएको छ ।

तथ्याङ्क अनुसार पछिल्ला वर्षमा पहाडी भेगमा ० दशमलव ०६ प्रतिशत र हिमाली भेगमा शून्य दशमलव ०४ प्रतिशतका दरले तापक्रममा वृद्धि भइरहेको छ । जस्को कारण पनि हिमाली क्षेत्रको प्राकृतिक वातावरणमा अस्वभाविक परिवर्तनहरु देखा पर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV