१० भाद्र २०७८, बिहीबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले प्रदेशबाट कोभिड उन्मुलनका लागि अभियान चलाइने बताएका छन् । जनता समाजवादी पार्टी कपिलवस्तु मायादेवीले पकडीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले यस्तो विचार व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै केसीले अभियानका लागि आवश्यक परे संघीय सरकारसँग सहमति गरेर जीटूजीमा ल्याएर अभियानमा जोडेर जति अर्ब खर्च भएपनि जनताको जीवन रक्षामा खर्चिन कसर नराख्ने बताएका छन् । नागरिकप्रति उत्तरदायी प्रदेश सरकारले मृगौला, क्यान्सरलगायतका बिरामीलाई तीन लाख सहयोग गर्ने भनी पहिलो बैठकमै निर्णय गरेको उनले स्मरण गरे ।

वर्तमान गठबन्धन संविधानको रक्षाका लागि बनाइएको स्पष्ट पार्दै केन्द्र र प्रदेशबाट हटाइएका कागजी बादशाहलाई गाँउ–गाँउबाट हटाउन आवश्यक रहेको केसीले बताए । प्रदेश सरकारले मुस्लिम बालिका र कम्लरी बालिकालाई डिप्लोमा तहसम्म छात्रबृत्ति दिने प्रदेश सरकारको योजना रहेको मुख्यमन्त्री केसीको भनाइ थियो ।

सो अवसरमा बोल्दै प्रदेशका भौतिक पूर्वाधार मन्त्री एवं जसपाका लुम्बिनी प्रदेशका संसदीय दलका नेता सहसराम यादवले केपी ओली नेतृत्वको सरकारले प्रतिगमनकारी नीति लिएको बताए ।

उनले पटक–पटक संविधानमाथि प्रहार गरेपछि संविधान बचाउनका लागि दलहरुबीच गठबन्धन भएको स्पष्ट पारे । दलहरुले गठबन्धन नगरेको भए संघीय गणतान्त्रिक व्यवस्था माथि नै खतरा हुनसक्ने उनको तर्क छ ।

कार्यक्रममा प्रदेशमन्त्री पुरमती ढेगा मगर, सुमन रायमाझी जसपा प्रदेश ईन्चार्ज दान बहादुर चौधरी, पार्टीका नेताहरु बजरंगी कुर्मी, निसार अहमद खाँलगायतले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV