१० भाद्र २०७८, बिहीबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका–२२ मनियारीस्थित सर्वोत्तम स्टिल प्रा.लि.मा आगलागी हुँदा १५ जना कामदार घाइते भएका छन् । भर्खरै सञ्चालनमा आएको उक्त उद्योगको ग्याँस प्लान्टमा फलाम पग्लाउने भठ्ठीमा ग्याँस लिक भई भठ्ठी पड्केर आगलागी हुँदा उद्योगमा कार्यरत १ जना नेपाली तथा १४ जना भारतीय गरि १५ जना कामदार घाइते भएका हुन् ।

घाइते हुनेहरुमा भारत विहार बस्ने ५२ वर्षीय विनोद पाण्डे, भारतकै यूपी लखनउ बस्ने ५२ वर्षीय सन्तोष कुशवाहा, सोही ठाउँ बस्ने २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानस परिदा, ३० वर्षीय रामपुकार यादव, बारा जिल्लाको छाता पिपरा बस्ने २२ वर्षीय टिँकु दास, भारतकै यूपी बस्ने २७ वर्षीय गगन नायक, भारतको खुशीनगर बस्ने ३५ वर्षीय धिरु सहनी, यूपी बस्ने ३८ वर्षीय चिँकु दास, १८ वर्षीय अमरनाथ सहनी, भारतकै विहार बस्ने २१ वर्षीय दिपक कुमार, भारत विहार दरभँगा बस्ने १८ वर्षीय रवि कुमार दास, छपरा बस्ने २२ वर्षीय अवधेश कुमार यादव, २२ वर्षीय निकु कुमार यादव तथा भारत सिवान बस्ने ३० वर्षीय अरुण कुमार रहेका छन् ।

घाइतेहरुमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ, भने ८ जना सामान्य घाइते भएका छन् । घाइतेहरुमध्ये भारत निवासी विनोद पाण्डे, सन्तोष कुशवाहा, सुशिल कुमार, मानस परिदा, रामपुकार यादव, टिँकु दास तथा गगन नायकको अवस्था गम्भिर रहेको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार ७ जनाको शरीरको टाउँको सहित ८५ प्रतिशत अंग जलेको छ भने ८ जनाको हात खुट्टामा सामान्य चोट पटक लागेको बताए । घाइते कामदारहरुको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

करिब १२ः४५ बजेको समयमा भठ्ठी पड्केर आगलागी भएको थियो । आगलागी भएपछि तत्काल वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षकको कमाण्डमा खटेको प्रहरी टोली, वीरगञ्ज महानगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उद्योगमा भएको भौतिक क्षतिको विवरण यकिन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV