१० भाद्र २०७८, बिहीबार

काठमाडौं । भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले अधिवेशन नजिकिँदै जाँदा विभिन्न बखेडा झिकेर धर्नामा बस्नु गलत भएको भन्दै आक्रोश पोखेका छन् ।

उनले भने, ‘हामीलाई त अधिवेशनको समय घर्किँदै गर्दा खासै केही समस्या नहोला । तर, कालिकोट, मुगुको सभापतिलाई समस्या होला । अधिवेशनको माहोल तयार पार्ने वा पार्टी कार्यालयमा बसेर धर्ना बस्ने ? यसको जवाफ म दिन्नँ । म सबैलाई पार्टीको महाधिवेशनमा विन्रमतापूर्वक सहभागी हुन आग्रह गर्छु । धर्नाको औचित्य छैन् ।’

काठमाडौंमा विहीबार आयोजित एक साक्षात्कारमा बोल्दै उनले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई जिल्ला सभापतिहरु उचालेर महाधिवेशन भाँड्ने क्रियाकलाप गरेको भन्दै आफू त्यसको विरुद्धमा रहेको स्पष्ट पारे । उनले आफूहरुले क्रियाशील वितरण सर्वसम्मत रुपमा वितरण गरेको पनि सुनाए ।

उनले भने, ‘भक्तपुरमा हामीले क्रियाशील र नविकरणपनि केन्द्रीय परिपत्र र विधानअनुसार नै गरेका हौं । भक्तपुरमा क्रियाशिलको विवाद छैन् । अरु ७६ जिल्लामा पनि साथीहरुले नविकरण र वितरण गर्नुभयो होला भन्ने लागेको थियो । तोकिएको समयभन्दा अघि नै हामीले काम सम्पन्न गरेको हो ।’

उनले थप भने, ‘हिजो समायोजनको प्रक्रियामा जाँदै गर्दा फोरम लोकतान्त्रिक र राप्रपाबाट आएका साथीहरुलाई पनि उचित रुपमा समायोजना गरेकै हो, यसमा समायोजन समिति गठन गरेर समायोजन गरेको हो । को सहमहामन्त्री बन्यो ? को केन्द्रीय सदस्य बन्यो ? कसले महासमिति सदस्य बन्यो भन्दापनि सबैले पार्टीको निर्णय मान्नुपर्छ ।’

थापाले अहिले कांग्रेस वैधानिक संकटमा छ भन्ने कुरा पनि आएको उल्लेख गर्दै भने, ‘वर्तमान सभापतिले महाधिवेशन गर्न नसक्ने भनेर पनि कुरा आयो । तर, सर्वसम्मतीले १४औं महाधिवेशनको मिति तय भएको छ । क्रियाशील सदस्यताको विवाद पनि समाधान भएको थियो । देशभरिका साथीहरु हर्षोल्लासका साथ सहभागी हुने वातावरण बनिरहेको बेला साथीहरु किन र कुन घेराबन्दीमा परेर धर्ना दिइरहनुभएको छ ? यो मलाई थाहा छैन् ।’

उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले क्रियाशील सदस्यताको विवाद समाधानबारे सहमतिमै प्रतिवेदन बुझेको र सहमति गरेको पनि स्मरण गराए ।

उनले थपे, ‘देशव्यापी रुपमा अधिवेशनको माहोल बन्दै थियो । तर, भोलिपल्टै अनियमितता भयो, धाँधली भयो । वेबसाइटमा सार्वजनिक गर्नुपर्यो भनेर धर्नामा हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV