१० भाद्र २०७८, बिहीबार

काठमाडौं । अमेरिका र बेलायतले काबुल विमानस्थल आक्रमणको उच्च जोखिम रहेको दावी गरेका छन् ।

दुवै मुलुकले बुधवार अबेर जारी गरेको सूचनामा विमानस्थल तथा त्यसआसपासमा तत्काल नजान आग्रह गरिएको छ । सूचनामा त्यहाँ रहेकाहरुलाई पनि सम्भव भएसम्म बाहिर जान भनिएको छ ।

आफूलाई इस्लामिक स्टेटका रूपमा चिनाउँदै आएका अतिवादी समूहले पार्न सक्ने खतराबारे अमेरिकी राष्ट्रपति जो बाइडनले चर्चा गरेको २४ घण्टापछि अमेरिका र बेलायतले असुरक्षाबारे सूचना जारी गरेका हुन् । भिडभाडयुक्त विमानस्थलमा खटेका सैन्य कमान्डरहरू आत्मघाती विस्फोटनको सम्भावनाका कारण चिन्तित रहेको बताइएको छ ।

तालिबानले विमानस्थल पुग्ने सबै बाटो बन्द गरिसकेको पनि जनाइएको छ । काबुल विमानस्थलको सुरक्षामा करिव ६ हजार अमेरिकी सैनिक र १ हजारभन्दा बढी ब्रिटिस सैनिक खटिएका छन् ।

काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारणहरू प्रतिक्षारत छन् । १० दिन अघि तालिबानले नियन्त्रणमा लिएको काबुलबाट ८२ हजारभन्दा बढीलाई हवाई मार्ग हुँदै अन्यत्रै लगिएको छ ।

मानिसहरूको उद्धार र बिदेशी सेनालाई अगस्ट ३१ भित्र फिर्ता हुन तालिबानले समयसीमा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV