९ भाद्र २०७८, बुधबार

काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) दलको मान्यता दिएको छ ।

बुधबार दुवै दललाई दल दर्ताका लागि हस्ताक्षर सनाखत गर्न बोलाएको आयोगले साँझ राजनीतिक दलको मान्यता प्रदान गरेको हो । दुवै पार्टीलाई आयोगले प्रमाणपत्र प्रदान गरेको छ ।

सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएपछि दल विभाजन गर्न सकिने व्यवस्था रहेको छ । त्यहीँ व्यवस्थाअनुसार दुवै दललाई नयाँ दल गठन भएको मान्यता दिइएको छ ।

नेकपा एमालेबाट छुट्टिएर दल दर्ता गरेको नेपाल समूहले दल दर्ता सनाखतमा एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमध्ये ५५ जना र १५४ सदस्यीय संसदीय दलका ३० जनाको हस्ताक्षर गरेको छ । केन्द्रीय कमिटीतर्फ २० प्रतिशत पुगे पनि संसदीय दलतर्फ १९.४८ प्रतिशत मात्र पुगेको छ । जसअन्तर्गत ४ जना सांसदको हस्ताक्षर सनाखन बुधबार हुन सकेन ।

उता, जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएको लोसपाका १७ जनाले दल दर्तामा सनाखत गरेका छन् । ५१ सदस्यीय कार्यकारिणी समिति रहेको जसपाबाट छुट्टिएर जाने सांसदको सङ्ख्या ३३ प्रतिशत हो ।

यससँगै नेपालमा अब राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV