९ भाद्र २०७८, बुधबार

चितवन । भरतपुर महानगरमा निजी क्षेत्रको सहकार्यमा भरतपुर मेट्रो प्लाजा निर्माण हुने भएको छ । बुधबार मेट्रो प्लाजा निर्माणको शिलान्यास पूर्वप्रधानमन्त्री एवंम नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका छन् ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा बहुउेद्धेश्यीय भवन ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्लाजा निर्माणका लागि भरतपुर महानगरपालिका र आर्या विल्डर्स इन्जिनियरिङ प्रा.लि.बीच पीपीपी मोडलमा परियोजना निर्माण गर्ने सम्झौता भएको छ । ।

शिलान्यासपछि बोल्दै अध्यक्ष प्रचण्डले भरतपुर मेट्रो प्लाजा चितवनको समग्र विकासमा एक कोसेढुङ्गा साबित हुने बताए । चितवनको विकास राष्ट्रको विकासको मोडल बनोस् भन्ने आफ्नो चाहना अनुसार नयाँ फड्को मार्ने उनको दावी छ । विकासको मुहार फेर्न सबै एकजुट हुनुको विकल्प नभएको समेत अध्य्रक्ष प्रचण्डको भनाई थियो ।

महानगरको भरतपुर–३ स्थित नारायणगढ लायन्सचोकमा रहेको साढे ११ कट्टठा जग्गामा निजी क्षेत्रले करिब २ अर्ब लगानी निर्माण हुने भवन निर्माण हुने मेयर रेनु दाहालले जानकारी दिईन् । उनका अनुसार मेट्रो प्लाजाले रोजगारी तथा महानगरको आम्दानीसमेत बढाउन सघाउने छ ।

आर्य बिल्डर्सका कार्यकारी प्रमुख जीवनराज कँडेलले ३ वटा बेसमेण्ट पार्किङ सहितको १४ तले सुविधासम्पन्न भवन बन्ने बताए ।

उनका अनुसार चिल्ड्रेन पार्क, कन्फ्रेन्स हल, पाँचतारे होटल, सिनेमा हल, फुड कोर्ट लगायतका संरचनाहरु बन्नेछन् ।

उनले ३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाए । महानगरले ३० वर्षमा करिब ८२ करोड राजश्व पाउने महानगरका बरिष्ठ इञ्जिनियर भरतकुमार आचार्यले बताए ।

उनका अनुसार पहिलो वर्ष ३० लाख, दोसैो वर्ष ३५ लाख, तेस्रो वर्ष ४० लाख जग्गा भाडा लिइनेछ । चौथो वर्षदेखि महानगरले जग्गा भाडा र राजश्व सहित १ करोड ५३ लाख ७५ हजार रुपैयाँ लिनेछ ।

उनले राजश्व हरेक २ वर्षमा १० प्रतिशतले बढ्ने जानकारी दिए । २०५० सालदेखि लायन्सचोकको सब्जिमण्डी सञ्चालनमा आएको थियो । महानगर स्वामित्वका ५७ र निजी क्षेत्रका १ सय सटरहरु सञ्चालनमा थिए ।

प्लाजा निर्माणको जिम्मा आर्य बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालिलाई निर्माण तथा सञ्चालनको दिइएको छ । महानगर र आर्यबीच यही साउन २४ गते सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV