९ भाद्र २०७८, बुधबार

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता जगन्नथा खतिवडाले माधवकुमार नेपाल समूह छाडेका दोस्रो पुस्ताका नेताहरू केही समयपछि आफ्नो पार्टीमा आउने विश्वास गर्नुभएको छ ।

नेकपा एमालेबाट विभाजन भएर दल दर्ताका लागि निवेदन दिएको नेकपा (एकीकृत समाजवादी) पार्टी नेता सनाखतका लागि निर्वाचन आयोग पुग्नुभएका नेता खतिडाले सञ्चाकर्मीसगँ कुरा गर्दै उक्त विश्वास व्यक्त गर्नुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिले गर्दा केही समयपछि नै दोस्रो पुस्ताका नेताहरु नेकपा (एकीकृत समाजवादी)मा आउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘केपी ओलीको प्रवृत्ति सबैले थाहा पाएकै छन्, ओलीको प्रवृत्तिले गर्दा उहाँहरु चाँडै आउनुहुन्छ । पहिलो रेल छुट्यो, दोस्रो रेलमा उहाँहरु आउनुहुन्छ ।’

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता तथा सांसदहरु सनाखतका लागि अहिले निर्वाचन आयोग पुगेका छन् । आयोगले सनाखतका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मलाई समय दिएको छ ।

नेपालको प्रस्तावित दलमा पुरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यको नाम बुझाइएको छ । त्यसमध्ये ५५ जनाले मात्रै हस्ताक्षर गरेका छन् । अध्यादेशअनुसार एमालेको केन्द्रीय कमिटीको कुल २ सय ३ संख्यामध्येको २० प्रतिशत अर्थात् ४१ जना जना सदस्य नयाँ दल खोल्न नेपाल समूहले आयोगमा पर्याउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV