९ भाद्र २०७८, बुधबार

काठमाडौं । एक थिए नेता जस्ले नेकपा एमालेको जीवनमा प्राण भरेका थिए । हुन पनि २०४६ सालको ऐतिहासिक परिवर्तनपछि उनको उदय नेपाली राजनीतिका लागि विश्मयकारी नै रहयो । हरेक मुद्दामा प्रष्ट विचार, स्पष्ट धारणा र सही दिशा निर्देशको कारण उनको परिचय पनि नेपाली राजनीतिमा पृथक बन्यो । उनीमात्र होइन एमालेको उपस्थिति नै नेपाली राजनीतिमा प्रभावकारी बन्यो । उनै पात्र थिए मदन भण्डारी, जस्लाई पश्चिमा सञ्चार माध्यमहरुले जहाँ कार्ल माक्र्स जिउँदै छ भनेर सम्मान समेत प्रकट गरे । उनले ल्याएको जनताको बहुदलीय जनवाद जबजको अवधारणामा टेकेर नेकपा एमाले नेपाली जनतामा भिजेन मात्र सरकारमा पनि पटकपटक पुग्यो ।

तर मदन भण्डारी अहिले भौतिकरुपमा नेपाली जनता, नेपाली राजनीति र एमालेसंग छैनन् । तर उनको विचार र निर्देशन त अझै पनि जीवन्त छ । जस्लाई उनका समर्थनमा उत्रिएका मात्र नभइ उनका शुभचिन्तक नेपाली जनताले साँचेर राखेका छन् । तर उनको विचार, धारणा र निर्देशनलाई भने एमालेका नेताहरुले बाँडेर खाने भएका छन् । नेकपा एमाले अब फेरि अर्को चिरा पर्दा केपी शर्मा ओलीले नेकपा एमालेको नेतृत्व गर्दा माधवकुमार नेपाल एमालेभित्र नअटेर नेकपा एकीकृत समाजवादीको नेतृत्व गर्ने भएका छन् ।

एमालेबाट उछिट्टिएका नेपालले पनि एमालेको प्राण अर्थात मदन भण्डारीको विचारधारा जनताको बहुदलीय जनवाद जबजलाई नै नछाड्ने उद्घोष गरेका छन् । जबज एमालेको प्राण त थियो नै त्यसमाथि नेपालको नेकपा एकीकृत समाजवादीले पनि जबजको मूल्य मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य लिएपछि मदन भण्डारीका तस्बीर टाँसिने पार्टीको संख्या त थपिने भयो । तर जबजको नीति अनुरुप कहिले कुन व्यवहार भयो र कुन नीति अनुरुप जनता एवं देशसंग व्यवहार गरियो ? यो प्रश्न एमालेलाई नै सोध्नु पर्ने बेला अर्को दल पनि उनको विचार रोपेर अघि बढने भयो अब ।

हुनत २०५४ सालमा महाकालीको पानीलाई लिएर भारतसंग भएको सन्धिपछि बामदेव गौतम पनि एमालेबाट चोइटिएर नेकपा माले भन्ने पार्टी बनाएर हिडे । तर २०५६ सालको संसदीय निर्वाचनमा गौतम नेतृत्वको नेकपा मालेको पत्ता साफ भएर एउटा क्षेत्रमा पनि निर्वाचन जित्न नसकेपछि गौतम फेरि एमालेमा नै फर्किए । अहिले उही गौतम एमाले भित्र ओलीतिर लाग्ने कि नेपालतिर टाँसिने भन्नेमा ढुलमुले चरित्र देखाउँदै आएका छन् । कहिले कता पुग्छन त कहिले कताको बैठकमा । ओलीको एमाले र नेपालको एकीकृत समाजवादी दुबैले उनलाई आफ्नै ठान्ने गरेका छन् ।

एमाले र नेकपा माओवादी केन्द्र जोडिएर नेकपा बनेपछि यो देशमा अब लाल झण्डा सय बर्ष राज गर्ने भयो भनेर उद्घोष नै गरियो । तर विचराहरु हुँदा खाँदाको दुई तिहाई गुमाउँदा न नेकपा नै रहयो नत एमाले र माओवादी केन्द्र नै सग्लो रहयो । कम्युनिष्टहरुबीच आएको यो कलहको असर अब कहिलेसम्म यो देशमा देखिने हो त्यस्को जवाफ आगामी संसदीय निर्वाचनमा नै देखिने पक्का छ । देशमा अस्थिरता बढ्यो र राजनीतिक स्थायीत्व भएन भन्दै नेपाली जनताले गरेको विवेकपूर्ण निर्णयलाई जसरी कुल्चियो त्यस्को जवाफ नेपाली जनताले पक्कै दिने छन नै आगामी निर्वाचनमा ।

ओलीको अहंकारलाई एमाले विभाजनको बुटी मान्नेहरु नेपाल तिर लागेका छन् । तर नेपालतिर नै लागेका दोस्रो पुस्ताका प्रभावकारी नेताहरु भने विभिन्न शर्त ओलीले स्वीकारेको नाममा उनैतिर ढल्किएका छन् । दुई दिनदेखि चन्द्रागिरीमा बसेर काठमाडौ नियालिरहेका नेपाललाई यो पक्कै पनि महंगो बन्ने पक्का छ । भोलि बुधबार निर्वाचन आयोगमा पुगेर सदस्यहरुको सनाखत गरेर समाजवादी नामको दल दर्ता गर्दा एमाले भित्र भने ठूलो पहिरो खस्ने छ । एमालेको लागि अति महंगो पर्ने यो घटनाको दोष केपी ओलीको शीरमा पर्ने हो या माधव नेपालले भोग्नु पर्ने हो, त्यो लेख्न इतिहासले कुनै कुञ्जुँस्याई र भेदभाव समेत नगर्ने पक्का छ ।

एमालेबाट सीपी मैनाली पनि चोइटिएकै हुन, राधाकृष्ण मैनालीहरु पनि छुट्टिएकै हुन् । मोहनचन्द्र अधिकारी जस्ता एमाले भित्रका नेल्शन मण्डेलाहरु एमालेको राजनीतिबाट विरक्तिएर मन्दिरको घण्टी बजाउँदै र शंख फुक्दै धर्मतिर तानिएकै छन् । यो इतिहास पनि पढेकै र देखेकै माधव नेपालले किन यत्रो आँट गरे ? धेरैले प्रश्न उठाउन थालिसकेका छ्न । तर नेपालले ओलीले पार्टी एकलौटीरुपमा कब्जा गरेकोले आफु बाध्य भएको तर्क राख्दै आएका छन् । अझ उनले यही कारण एमालेको एकता प्रक्रिया नरोकिने दावी गर्दै कार्यकर्तालाई थामथुम पार्ने प्रयास पनि गरेकै छन् । हेरौ नेपालको यो कदम नेपाल देशका लागि र एमालेका लागि कस्तो हुनेछ, त्यो देखिने छ नै ।

दलको विभाजनले सहज होइन असहज परिस्थिति ल्याउन देश भित्र । त्यसमाथि सदैव शक्तिमा रहेको एमालेको विभाजनले पनि चानचुने नभइ महंगो असर पार्ने निश्चित छ । तर जनताको मतको अपमान गर्ने दलहरुको यो गतिछाडा प्रवृति अब भने नेपाली जनताबाट तिरस्कृत हुनै पर्ने आवाजहरु समेत उठन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV