९ भाद्र २०७८, बुधबार

काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुरको दुई नयाँ पार्टीको सनाखतका लागि आज (बुधबार) बोेलाएको छ ।

नयाँ दल दर्ताका लागि निवेदन दिएको माधव समूहको नेकपा ‘एकीकृत समाजवादी’ र ठाकुरको समूहको ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई सनाखतको लागि निर्वाचन आयोगले बोलाएको हो ।

दुवै पार्टीलाई आज बिहान साढे ११ बजेदेखि २ बजेभित्र सनाखतका लागि आयोगमा बोलाइएको निर्वाचन आयोगले जनाएको छ । प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेपाल अध्यक्ष र वरिष्ठ नेतामा झलनाथ खनालसहित ११५ जना केन्द्रीय सदस्य छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीमा ठाकुर अध्यक्ष, राजेन्द्र महतो र शरतसिंह भण्डारी वरिष्ठ नेतासहित ३१ जना कार्यकारिणी सदस्य छन् । आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया बुधबार नै पु¥याउने र दल दर्ताको निर्णय गर्ने बताइएको छ ।

आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिँदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा हाजिर हुन भनेको हो ।

नेपालको प्रस्तावित दलमा पुरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यको नाम बुझाइएको छ । त्यसमध्ये ५५ जनाले मात्रै हस्ताक्षर गरेका छन् । अध्यादेशअनुसार एमालेको केन्द्रीय कमिटीको कुल २ सय ३ संख्यामध्येको २० प्रतिशत अर्थात् ४१ जना जना सदस्य नयाँ दल खोल्न नेपाल समूहले आयोगमा पर्याउनुपर्ने हुन्छ ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी नामको दलमा ३१ जना कार्यकारिणी सदस्यको नाम बुझाइएकोमा २९ जनाको मात्रै हस्ताक्षर छ । ठाकुर अध्यक्ष रहनेगरी सो दलमा राजेन्द्र महतो र शरतसिंह भण्डारीलाई वरिष्ठ नेताका लागि प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV