८ भाद्र २०७८, मंगलवार

काठमाडौं । श्रावणी पूर्णिमाको शुभ दिन पारेर ‘विश्व संस्कृत दिवस’को अवसरमा, वेदको भाषा संस्कृत को महत्त्वलाई प्रकाशमा ल्याउनका लागि ‘संस्कृत : पूर्वीय संस्कृतिको स्रोत’ शीर्षकमा एउटा अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन गरिएको छ ।

मंगलबार नेपालका लागि भारतीय राजदूत श्रीविनय मोहन क्वात्राले उक्त सेमिनारको उद्घाटन गरेका हुन् । कोभिड-१९ को परिस्थितिमा यो सेमिनारलाई भौतिक तथा भर्चुवल मोडमा आयोजना गरिएको थियो।

समारोहमा वाङ्गमय शताब्दी पुरुष र नेपालका महान् विद्वान् सत्य मोहन जोशी, पद्मश्री पुरस्कार विजेता चमू कृष्ण शास्त्रीलगायत भारत, नेपाल, अमेरिका, बेलायत र इटलीका प्रख्यात विद्वानहरूको उपस्थिति थियो।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) का अध्यक्ष विनय सहस्र बुद्धेले भिडियो सन्देशमार्फत् कार्यक्रमका लागि शुभकामना व्यक्त गरेका थिए ।

सेमिनारमा नेपालका १५ संस्कृत विद्वानहरूले आफ्नो शोध पत्र प्रस्तुत गरे र भारत र विदेशका ३० भन्दा बढी विद्वानहरुले संस्कृत भाषा, साहित्य, संस्कृति, तंत्र, व्याकरण,आयुर्वेद, ज्योतिष, र योगलगायत विभिन्न विषयहरूमा आफ्ना लेख र विचार प्रस्तुत गरेका थिए।

नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरूका साथै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष र त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयका डीनसहित थुप्रै संस्कृत विद्वान् हरूले सेमिनारमा आ–आफ्नो विचार आदान प्रदान गरे ।

सेमिनारमा नेपाल, भारत लगायत अन्य मुलुक का ४५ विद्वान्हरुले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । फेसबूक लाईभको माध्यमबाट पनि हजारौंले सेमिनारमा आफ्नो उपस्थिती जनाएका थिए ।

सेमिनारको उद्घाटन सत्रमा महामहीम भारतीय राजदूत क्वात्रा, शताब्दी पुरुष जोशी, चमू शास्त्री तथा प्रा. भीम प्रसाद खतिवडाबाट सामूहिक रूपमा ‘संस्कृतम् भारत नेपालयो : संपत्ति.–भाग २’ शीर्षकमा महत्त्वपूर्ण पुस्तकको पनि विमोचन गरियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV