८ भाद्र २०७८, मंगलवार

वीरगन्ज । पर्साको छिपहरमाई गाउँपालिका अहिले जिल्लाकै नमूना गाउँपालिकाको रुपमा स्थापित भएको छ ।

गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले निर्वाचित भएदेखि भौतिक पूर्वाधार विकासको साथसाथै स्वास्थ्य, शिक्षा एवं महिलाहरुलाई आत्मनिर्भर बनाउने योजनासहित अगाडि बढेको भन्दै भौतिक पूर्वाधारलगायत शिक्षा एवं स्वास्थ्यको हकमा अहिले गाउँपालिका जिल्लाकै नमुना गाउँपालिकाको रुपमा स्थापित हुन पुगेको बताए ।

सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिम नेपाल भारतको सीमा क्षेत्रसँग जोडिएको यस गाउँपालिका विकास गर्न विभिन्न चुनौति रहेपनि त्यसलाई सामना गर्दै गाउँपालिका विकास निर्माणमा नमुना गाउँपालिकाको रुपमा स्थापित भएको हो ।

गाउँपालिकाको सडकहरु हिलाम्मे हुने तथा तथा सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई आफूलाई गैर नागरिक सरह महसुस गर्दै आएकोमा निर्वाचित भएयता ४ वर्षको अवधिमा भौतिक पूर्वाधार लगायत शिक्षा, स्वास्थ्य क्षेत्रमा आएको सुधारले त्यहाँका नागरिकहरु खुशी भएको अध्यक्ष गुप्ताले दाबी गरे ।

दैनिक जीवनमा चाहिने अत्यावश्यक सामान किन्न पनि भारतको सीमावर्ती सहर धाउनुपर्ने अवस्थालाई अन्त्य गर्दै गाउँपालिकाले अहिले आफ्नो क्षेत्रमा ठूलठूला बजार, अस्पताल, विद्यालय लगायतका भौतिक पूर्वाधारहरु निर्माण गरेसँगै त्यो समस्या अन्त्य भएको गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले बताए ।

उनका अनुसार अहिले गाउँपालिकामा प्लस टु विद्यालयदेखि एम.बि.बि.एस. चिकित्सक सहितको अस्पताल संचालन गरिएको तथा पालिकाको सम्पूर्ण वडाहरुमा बर्थिङ्ग सेन्टरहरुको स्थापना गरिएको बताए ।

ग्रामीण भेगमा विकृत्तिको रुपमा जडा गाडेको छोरी संरक्षणलाई पनि पालिकाले विशेष प्राथमिकतामा राखेको छ । छोरी जन्मने वित्तिकै अपहेलित हुनुपर्ने, बोक्सीको आरोपमा अपहेलित हुनुपर्ने, छोरी भएकै कारण घरमै बस्नुपर्ने जस्ता कुप्रथाहरुलाई पनि अन्त्य गरिएको अध्यक्ष गुप्ताले दाबी गरे ।

छोरीहरुलाई उच्च शिक्षा हासिल गर्नका लागि गाउँपालिका स्तरमै प्लस टु विद्यालय संचालन गरिएको तथा प्राविधिक शिक्षाको पनि विकास गरिएको बताए । प्राविधिक शिक्षा हासिल गर्न दक्ष जनशक्ति सहित विद्यालयहरुमा कम्प्युटर सहितका प्राविधिक शिक्षा संचालन गरिएको बताए ।

यसैगरी प्रदेश सरकारले संचालन गरेर अलपत्र अवस्थामा छाडेको छोरी वीमा कार्यक्रमलाई पनि पालिकाले आप्mनो एकल प्रयासमा निरन्तरता दिने योजना बनाएको छ । त्यस्तै, गरिब, निमुखा परिवारलाई बास स्थानको व्यवस्था गर्ने, युवाहरुलाई रोजगारी दिने तथा पालिका स्तरमा नमुना बस्ती नै निर्माण गर्ने पालिकाको योजना रहेको बताइएको छ ।

त्यसैगरि विगत लामो समयदेखि डुबानको समस्या खेप्दै आएको पालिकाले यसवर्ष करिब ५ करोडको लगानीमा ९ किलोमिटरको तटबन्ध आफ्नै खर्चमा निर्माण गर्ने भएको छ ।

जिल्लाकै दुर्गम क्षेत्रको रुपमा चिनिने छिपहरमाई गाउँपालिकामा यस जिल्लाको मात्र नभई नेपालको पहाडी क्षेत्रबाट आएको बाढीको पानी गाउँपालिकामा नै जमेर बालीनालीसहित भौतिक पूर्वाधारहरु नष्ट हुँदै आएकोमा त्यसलाई अन्त्य गर्नका लागि गाउँपालिकाले नेपाल सरकारसँग पटक पटक आग्रह गएिको पनि बताइएको छ ।

पटक पटक यस विषयमा पहल गर्दा असम्भव भएकाले गाउँपालिकाले आफै सीमा क्षेत्रमा ९ किलोमिटरको तटबन्ध निर्माण गर्ने योजना बनाएको छ ।

जुन यस आर्थिक वर्षमा सुरु गरि ६ महिनामा निर्माण सम्पन्न गरिने उनको भनाइ छ । हाल गाउँपालिकामा सडक ढलान, नाला निर्माणको कार्य ८५ प्रतिशत सम्पन्न भइसकेको अवस्थामा बाँकी ठाउँमा यस आर्थिक वर्षमा विकास निर्माणको कार्यलाई पुरा गर्ने गाउँपालिकाको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV