८ भाद्र २०७८, मंगलवार

काठमाडौं । नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय कम्पनीहरुसँग भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार भारतीय राजदूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सम्मुपस्थितिमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले कार्यक्रममा उपस्थित सबै सहभागीहरुलाई सम्बोधन गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख खम्पाले नेपाल भारतको विशेष साझेदार तथा सबैभन्दा महत्वपूर्ण छिमेकी भएको चर्चा गर्दै भारतको एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउननेपाल प्रमुख सहयोगीको रुपमा रहेको उल्लेख गरिन् । खम्पाले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको चर्चा गरिन् ।

यस क्षेत्रको बढ्दो अवसरबारे चर्चा गर्दै खम्पाले नेपाललाई प्राथमिकताको सूचीमा राखी यहाँका अवसरबाट लाभ लिन भारतीय कम्पनीहरुलाई सुझाव दिइन् । त्यस लगत्तै उपस्थित सहभागीहरुलाई भारतीय दूतावासले पूर्वाधार क्षेत्रबारे जानकारी गराएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्माले सहभागीहरुसँग कुराकानी गर्नुका साथै उनीहरुका जिज्ञासा र प्रश्नहरुको जवाफ पनि दिएका थिए ।

नेपालमा व्यवसाय क्षेत्रमा सहभागीता जनाउन सहसचिव शर्माले भारतीय कम्पनीहरुलाई स्वागत गर्नुका साथै पूर्वाधार क्षेत्रमा बोलपत्रको मात्रा, दायरा र प्रकृतिबारे उनले जानकारी दिएका थिए।

फन्डिङ्ग मोडालिटी, जोइन्ट भेन्चर र अन्य विषयहरुमा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ उनले दिए । साथै, परियोजनाको मापदण्ड अनुरुप उपयुक्त हुने स्थानीय साझेदारहरुसँग सम्बन्ध विस्तार गर्न सहभागीहरुलाई उनले प्रोत्साहित गरे ।

कार्यक्रमको सञ्चालन जीएमआर इनर्जीका प्रमुख कार्यकारी अधिकृत श्री एस एन बर्देले गरेका थिए । गएका केही वर्षहरुमा भारतीय पूर्वाधार कम्पनीहरुले भारत भित्र तथा भारत बाहिर प्रमुख परियोजनाहरुको विकास गर्दै गुणस्तरीय निर्माण, समयावाधि भित्रै निर्माण सम्पन्न तथा मूल्य प्रतिस्पर्धाका लागि छुट्टै पहिचान बनाउन सफल भएको छ ।

भारतीय पूर्वाधार कम्पनीहरुलाई नेपालमा वृद्धि भइरहेका पूर्वाधार क्षेत्रप्रति आकर्षित गरी नेपालका साझेदारहरुसँग हातेमालो गर्दै प्रविधि, सीप र ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ सो अन्तक्रियाको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV