८ भाद्र २०७८, मंगलवार

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग संक्रमणकालीन न्याय, मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै छलफल गरेको छ ।

मंगलबार कानून, न्याय तथा संसदीय मन्त्रालय सिंहदरबारमा भएको छलफलमा संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउनलगायत विषयमा छलफल भएको हो ।

शान्ति समाजले यस सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला, अन्तर्राष्ट्रिय मानव अधिकार एवं मानवीय कानुनको मर्म अनुरुप ‘बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन’ लाई शिघ्र संसोधन गर्न आग्रह गरेको छ ।

यसैगरी नेपाल राज्यपक्ष भएका मानव अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि अनुरुप कानुन निर्माण तथा परिमार्जन तदारुकताका साथ गर्न जोड दिँदै अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई अनुमोदन गर्न समेत आग्रह गरिएको छ ।

प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठ लगायत संलग्न रहेका थिए ।

समाजले संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउनेलगायत १० बुँदे ध्यानाकर्षण पत्र मन्त्री कार्कीलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV