८ भाद्र २०७८, मंगलवार

झापा । आर्थिक अभावका कारण लामो समयदेखि उपचार खर्च जुटाउन नसक्दा झापा मेचीनगरकी विष्णुमाया मगरको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ ।

आर्थिक स्रोत नभएका कारण मेचीनगर ८ स्थित सेन्टरी टोल निवासी ३६ वर्षीया विष्णुमाया मगरले आफ्नो अनुहारभरि पलाएको मासुको डल्लो (ट्युमर) को उपचार गर्न सकिरहेकी छैनन् ।

मुख र नाक मासुका लुर्काले छोपिइसकेको छ । आँखा हेर्न समस्या हुँदै गएको छ । खानपिन र हिँडडुलमा समेत कठिनाइ भइरहेको उनले बताइन् ।

बुवाआमा गुमाएकी विष्णुमाया काकाको घरमा आश्रय लिँदै आएकी छिन् । उपचारका लागि अस्पताल जाने आर्थिक स्रोत छैन । वर्षाैंदेखि यस्तै पीडा सहेर बस्नु परेको उनकी काकी उमामाया मगरले बताइन् ।

कुन रोगका कारण मासु पलाएको भन्ने पत्ता लगाउन सकिएको छैन । सानै छँदा अनुहारमा सामान्य गाठागुठी देखिएको र अहिले अनुहारलगायत शरीरभरि मासुका डल्लो पलाएको छ ।

स्वास्थ्य जटिल बनेपछि जीविका चलाउन नै मुस्किल भइरहेको भन्दै उनले देश तथा विदेशमा रहेका मनकारी नेपाली दाजुभाइ र दिदीबहिनीलाई सकेको सहयोगी गरिदिन आग्रह गरेकी छिन् ।

यसैबीच, विष्णुमायाकाे उपचारका लागि अमेरिकामा रहेका नेपालीहरूकाे साझा संस्था देउराली फाउन्डेसनले नगद रू ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

समाजसेवी खिम राेक्का र एनआरएन अमेरिकाका कोषाध्यक्ष राजिव श्रेष्ठको तर्फबाट फाउन्डेसन मार्फत पत्रकार भिम घिमिरे र गाेपाल बराइलिले उक्त आर्थिक सहयोग विष्णुमायकाे घरमै पुगेर सोही वडाका अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष मेचे, गंगा पाठकलगायत स्थानियहरूकाे उपस्थितिमा हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV