७ भाद्र २०७८, सोमबार

बारागढी । बारा जिल्लाको १६ वटा स्थानीय तहमध्ये बारागढी गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा बारा जिल्लामा सबैभन्दा कम बारागढी गाउँपालिकाको बेरुजु देखिएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा गरेको काम कार्यवाहीको क्रममा १ दशमलब १७ प्रतिशत मात्रै बेरुजु देखि सुशासनमा जिल्लाकै उत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । जिल्लामै सबै भन्दा कम बेरुजु भई सुशासनमा जिल्लामै उत्कृष्ट भएपछि गाउँपालिकाले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना मातहतका कर्मचारी र सहयोगीलाई धन्यवादसमेत दिएको छ ।

बारा जिल्लामा २ वटा उप–महानगरपालिका, ५ वटा नगरपालिका तथा ९ वटा गाउँपालिका रहेका छन् । जसमध्ये सबैभन्दा बारागढी गाउँपालिकामा १ दशमलब १७ प्रतिशत कम बेरुजु देखिएको छ भने कोल्हभी नगरपालिकामा सबैभन्दा बढि बेरुजु देखिएको छ । कोल्हभी नगरपालिकाको ११ दशमलब ६४ प्रतिशत बेरुजु देखिएको छ ।

हालेखाको प्रतिवेदन अनुसार दुईवटा उपमहानगरमा जितपुर सिमरा उपमहानगरपालिकाको ८ दशमलब १७ प्रतिशत बेरुजु देखिएको छ भने कलैया उपमहानगरपालिकाको ४ दशमलब ८० प्रतिशत बेरुजु देखिएको छ ।

त्यस्तै ५ वटा नगरपालिकाहरु मध्ये कोल्हवी नगरपालिकाको सबैभन्दा बढि बेरुजु देखिएको छ । त्यस पश्चात निजगढ नगरपालिकाको ९ दशमलब ६८ प्रतिशत, महागढीमाई नगरपालिकाको ५ दशमलब ९५ प्रतिशत, पचरौता नगरपालिकाको ६ प्रतिशत तथा सिम्रौनगढ नगरपालिकाको ३ दशमलब ७५ प्रतिशत बेरुजु देखिएको छ ।

९ वटा गाउँपालिकामध्ये करैयामाई गाउँपालिकाको सबै भन्दा बढि बेरुजु देखिएको छ । करैयामाई गाउँपापलिकाको १० दशमलब ८२ प्रतिशत बेरुजु देखिएको छ भने प्रसौनी गाउँपालिकाको १० दशमलब ४८ प्रतिशत, देवताल गाउँपालिकाको ९ दशमलब २१ प्रतिशत, सुवर्ण गाउँपालिकाको ७ दशमलब ५१ प्रतिशत, आदर्श कोतवाल गाउँपालिकाको ३ दशमलब १४ प्रतिशत, विश्रामपुर गाउँपालिकाको ९ दशमलब २ प्रतिशत तथा फेटा गाउँपालिकाको ३ दशमलब ४८ प्रतिशत बेरुजु देखिएको छ ।

बारा जिल्लामा सबैभन्दा कम बेरुजु देखिएको बारागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले गाउँपालिकाको काम कार्यवाहीदेखि विकास निर्माणको कार्यलाई अझै इमान्दारिता तथा लगनशीलताका साथ अगाडि बढाइने बताए । उनका अनुसार जिल्लामै सबैभन्दा कम बेरुजु देखिनुमा यस गाउँपालिकाका कर्मचारी देखि जनप्रतिनिधिहरुको इमान्दारिता र लगनशीलताले आआफ्नो कर्तव्य निर्वाह गरेको कारण जिल्लामै सुशासनमा उत्कृष्ट गाउँपालिका भएकोले आगामी दिनमा पनि अझै प्रभावकारी ढँगले काम कार्यवाहीलाई अगाडि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV