७ भाद्र २०७८, सोमबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा सांसदहरूबाट सभामुख अग्निप्रसाद सापकोटामाथि धम्कीपूर्ण व्यवहार भएको भन्दै सत्तारुढ गठबन्धनले ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार एक संयुक्त विज्ञप्ती जारी गर्दै गठबन्धनका सांसदहरुले सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध रहेको बताएका छन् ।

‘यही भदौ ३ र ४ गते सिंहदरबार संघीय संसद सचिवालय, सम्माननीय सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का माननीय सदस्यहरुले सम्माननीय सभामुखज्यूलाई लक्षित गरी दिनुभएको संसदीय मर्यादा विपरीत बल प्रयोगजस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख विपक्षी दलका नेताले सार्वजनिक मिडियाहरुमा सम्माननीय सभामुखज्यू विरुद्ध दिनुभएको धम्कीमुलक अभिव्यक्तिको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङ, जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र माधवकुमार नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV