७ भाद्र २०७८, सोमबार

काठमााडौं । बल्लतल्ल विश्वास जित्न थालेको बीमाको बजार र व्यवस्थापनमाथि अर्को एउटा जटिल चुनौती थपिने भएको छ । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना कहालीको दौरानमा नेपालमा पनि बिभिन्न कम्पनीहरुले धमाधम वीमा गरे । हचुवाको भरमा सुरु गरिएको बीमा कार्यक्रमप्रति संक्रमणको भयमा रहेकाहरु जोडिए पनि । यसरी जोडिएका धेरैलाई कोरोनाले छोयो पनि । तर बीमामा जोडिएका कोरोना संक्रमितहरु सबै विमितले रकम पाउन सकेनन् ।

यो विषयलाई महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा पनि उठाउँदै अझै पनि वीमा कम्पनीहरुले विमितहरुको ६ अर्ब बढी रकम भुक्तानी गर्न बाँकी रहेको उल्लेख गरेको छ । र, जस्को विश्वास सरकारसंग पनि जोडिएको प्रष्ट पारेको छ । तर वीमामा संकलित रकम भन्दा पनि दावी पेश गर्नेहरुको संख्या र विगो बढी हुँदा वीमा कम्पनीहरु संक्रमित विमितलाई रकम दिन नसक्ने अवस्थामा छन् ।

अहिले उनीहरुले सरकारले प्रतिबद्धता जनाएको रकम दिए मात्र विमितको रकम दिन सकिने भन्दै आएका छन् । जस्को कारण विमितहरु वीमा अधिकारबाट वञ्चित हुने सम्भावना बढ्दो छ । अपवादकोरुपमा केही नातेदार र पहुँचवालाहरुले कोरोना वीमा रकम पाएपनि अधिकांशले पाउन नसक्दा नेपालमा वीमाको बजार र व्यवस्थापनाले फेरि एकपटक विश्वास गुमाउने निश्चितप्राय छ ।

६ अर्ब बढी भुक्तानी गर्न बाँकी

शनिबारसम्म नेपालमा कुल संक्रमितको संख्या ८ लाख २५ हजार ७ सय २२ पुगेको छ । यस्तै निको हुनेको संख्या ६ लाख ९५ हजार ९ सय २५ पुगेको छ । नेपालमा कोराना संक्रमितको संख्या थपिने क्रम निरन्तर छ । तर अहिले कुनै पनि वीमा कम्पनीहरुले कोरोनाको नाममा वीमा संकलन गर्ने कार्य भने अघि बढाएका छैनन् । यस अघि नै कोरोना वीमा गरेकाहरुलाई दिनुपर्ने रकम ६ अर्ब बढी नाघिसेको छ र महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले यो विषयलाई गम्भीरताका साथ उठाउँदै विमितहरुको रकमप्रति गम्भीर बन्न सुझाएको छ ।

कोरोना बीमा कार्यक्रम २०७७

  • २०७८ असारसम्म १७ लाख ५८ हजार ३ सय ३४ ले गरे बीमा
  • विमितबाट कुल १ अर्ब ५ करोड ५ लाख बिमा प्रिमियम संकलन
  • १ लाख १४ हजार ६ सय ३३ बिमितबाट १० अर्ब ९७ करोड ७३ लाखको दाबी पेश
  • प्रिमियमभन्दा ९ अर्ब ९२ करोड ६८ लाख बढी दाबी पेश
  • दावी मध्ये ६ अर्ब १६ करोड ६१ लाख रुपैयाँ भुक्तानी हुन बाँकी

रकम नपाउँदा बिमितहरू निराश

विमितहरु लामो समयदेखि बीमा वापतको रकम पाउँन नसक्दा निराश बन्न थालेका छन् । गत असारयता कोरोना बीमालेखको अवधि पनि टुंगिएको छ । तर यस अघि दाबी पेश गरेका १ लाख बढी बिमितले बीमा बापतको रकम पाउन बाँकी छ ।

जुनसुकै बीमा कम्पनीबाट बीमा गरेपछि सरकारले बीमा पुल बनाएर सबै प्रिमियम त्यहीं जम्मा हुने, दाबी पनि पुलको स्वीकृतिबाट पाइने र सबै बीमा कम्पनीले समान दायित्व व्यहोर्ने व्यवस्था गरेको थियो । तर, पछिल्लो समय कम्पनीहरूले बीमा गर्न आएकालाई निरुत्साहित गरेर फर्काउने गरेको विमितहरुले बताउँदै आएका छन् ।

बीमा कम्पनीहरु पछि हटे

यता वीमा कम्पनीहरुले सरकारले प्रतिबद्धता गरेको रकम नआएकाले भुक्तानी दिन नसकिएको भन्दै बिभिन्न बीमा कम्पनीहरूले सूचना नै निकालिसके । पहिला बीमाको मापदण्ड र बिभिन्न व्यवस्था गरिएको फारम भराउने बीमा समिति र सरकारले भने पैसा दिने सम्बन्धमा कुनै निर्णय गरेको छैन ।

हचुवाको भरमा गरिएको बीमा कार्यक्रमलाई लिएर धेरैले त्यतिखेर नै आलोचना गरेका थिए । महामारीमा विश्वमा कुनै पनि देशमा बीमा नगरिने भन्ने आवाज समेत उठेको थियो । तर अधिकांश बीमा कम्पनीहरु रातोरात अघि सरे । तर अहिले दिने बेलामा भने उनीहरु दिउँसै पछि सरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV