७ भाद्र २०७८, सोमबार

एजेन्सी । नयाँ सिजनको इटालियन सिरी ‘ए’ को पहिलो खेलमै युभेन्ट्स बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युभेन्ट्स घरेलु टोली उडिनेससँग २–२ को बराबरीमा रोकिएको हो ।

युभेन्ट्सले सुरुवाती दुई गोलको अग्रता लिए पनि जोगाउन सकेन । युभेन्ट्सले दुवै गोल पहिलो हाफमा गरेको थियो भने उडिनेसले दुवै गोल दोस्रो हफमा गरेको थियो ।

युभेन्ट्सको लागि पाउलो डिबाला र जुआन कोर्डाडाले गोल गरे भने उडिनेसका लागि रोबर्टो पेरेरा र जेरार्ड डिलोफिउले गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा नै पाउलो डिबालाको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो । उनले रोड्रिगो बेन्टानकरको पासमा गोल गरेका थिए ।

२३औं मिनेटमा जुआन कोर्डाडाले गोल गर्दै युभेन्ट्सलाई २–० को अग्रता दिलाए । उनले डिबालाको पासमा गोल गरेका थिए । तर दोस्रो हाफमा युभेन्ट्सले उक्त अग्रतालाई जोगाउन सकेन ।

५१औं मिनेटमा रोबर्टो पेरेराले पेनाल्टीमार्फत गोल गर्दै एक गोल फर्काए । ८३औं मिनेटमा जेरार्ड डिलोफिउले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले स्टेफानो ओकाका चुकाको पासमा गोल गरेका थिए ।

त्यसपछि दुवै टोली थप गोल गर्न नसक्दा खेल बराबरीमा सकियो । बराबरी पछि दुबै टोलीले समान १ अंक जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV