६ भाद्र २०७८, आईतवार
  • भगतराम थारु,

नेपालगञ्ज । आइतबार देशभरी धुमधामका साथ रक्षा बन्धन मनाइएको छ । रक्षा बन्धनको अवसरमा बजारभरी राखी बाँध्ने तथा मठमन्दिरमा पनि चहलपहल बढेको छ ।

भाई–बहिनीको पवित्र, स्नेह एवं अटुट बन्धनको प्रतिक रक्षाबन्धन पर्वलाई लिएर नेपालगञ्जको विभिन्न स्थानमा चहलपहल बढेको छ । मुख्य बजार मानिने धम्बोझी, त्रिभुवन चौक, वीपी चोक, त्रिवेणीमोडलगायतका ठाउँमा सर्बसाधारणहरुको चहलपहल बढेको छ ।

राखीको पसल, मिठाई पसल, मठमन्दिरलगायतका रमणीय स्थानमा चहलपहल उत्तिकै रहेको छ । रक्षाबन्धन पर्वलाई मध्यनजर गरी प्रहरी प्रशासनले ठाउँ–ठाउँमा चेकजाँचमा कडाइ गरेको छ । पर्वलाई मध्यनजर गरी लुटपाटमा पनि निगरानी बढाइएको छ ।

नेपालगञ्जको धम्बोझी, वीपी चोक, त्रिभुवन चोक, पुष्पलाल चोकलगायतका ठाउँमा सुरक्षाकर्मीहरु तैनाथ छन् । जनै पूर्णिमाको दिन मन्दिर, खोला, पोखरी, पानीको मूल आदि स्थानमा व्रम्हाणद्वारा मन्त्रोच्चारण गरी जनै फेर्ने वा रक्षवन्धन बाँध्ने गरिन्छ ।

रातो, पहेंलो रंगको डोरा बाँध्ने गरिन्छ । यो डोरा लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बाँधिदिने प्रचलन रहेको बागेश्वरी मन्दिरका पूजारी मिन प्रसाद सुवेदीले बताए ।

उनले भने, ‘धार्मिक मान्यता के छ भने यसरी विधिपूर्वक डोरा बाँधेपछि रोग ब्याध नलाग्ने, सुख शान्ति मिल्ने हुन्छ । धार्मिक कथन अनुसार सत्य युगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलीलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध छ’, सुबेदीले भने ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV