६ भाद्र २०७८, आईतवार

सुर्खेत । जुम्लाबाट एक १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने अभियुक्त सुर्खेतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाया रहेका छन् । उनले एक किशाेरीमाथि जबरजस्ती करणी (बलात्कार) गरी शिशु जन्माएकाे र साेही बच्चा १० महिनाकाे हुँदा नाटकीय ढंगले अपहरण गरेकाे खुल्न अाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार सुर्खेतकाे एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । राेकायाले बच्चा अपहरण गरी भागेर सुर्खेत पुगेकाे बताइएकाे छ ।

जिप्रका निरीक्षक कनकबहादुर शाहीले पक्राउ परेका अभियुक्त रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिनुभयो । अपहरित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान उनीले दिएको प्रहरी निरीक्षक शाहीले बताए ।

जिप्रका जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जुम्ला हिमा– ३ की १९ वर्षीया किशोरीले यही भदौ ३ गते रातिदेखि शिशु हराएको भनेर निवदेन दिएको बताए ।  ‘घटना निकै गम्भीर र संवेदनशील छ,’ उनले भने, ‘अनुसन्धानका क्रममा भएकाले अहिले नै यो हो भन्न सकिन्न । हामीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान गरिरहेका छौँ ।’

नाटकीय ढङ्गबाट अपहरण

रोकायाको अवैध सम्पर्कबाट शिशु जन्मेको बताइएको छ । किशोरीले गत कात्तिक महिनामा शिशुलाई जन्म दिएकी थिइन् । पीडित किशोरीका बुवा शक्तिबहादुर कठायतका अनुसार किशोरीले यस वर्ष राहदेव मावि मोफ्लाबाट माध्यमिक शिक्षा परीक्षा दिएकी थिइन् । उनले भने, ‘छोरीलाई गाउँपालिकामा तालिम दिन्छु भनेर झुक्याएर दानबहादुरले जबर्जस्ती सम्बन्ध राख्यो । शिशु जन्मेपछि अपहरण समेत गर्यो । न्याय माग्न जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका छौँ ।’

किशोरीले चाहिँ बच्चा पनि झुक्याएर जन्माएकाे र झुक्याएरै अपहरण गरेकाे बताइन् । ‘यही भदौ ३ गते घर नजिकै पसलमा बसिरहेको थिए । राति ९ः०० बजेतिर दानबहादुर त्यहाँ आएर मलाई भन्यो- तिम्रो आमालेले बोलाउनुभएको छ,’ ती किशाेरीले भनिन्, ‘आमाले किन बोलाउनुभयो हाेला भन्ठानेर म हतपत्त शिशुलाई पसलकै ओछ्यानमा राखेर हिँडे । ऊ (दानबहादुर) मसँग आएन । पछि आमाले नातिलाई किन छोडेर आइस्, छिटो यही लिएर आइज भनेर म पसल जाँदा शिशु त्यहाँ देखिनँ ।’

शिशु हराएपछि अाफूले गुहार मागेकाे उनले बताइन् । ‘स्थानीय प्रहरीलाई गुहार्याैं, अहिलेसम्म शिशु भेटिएको छैन,’ उनले भनिन् ।

किशोरीले रोकायले नाटकीय तवरबाट आफ्नो शिशुलाई अपहरण गरेको आरोप लगाएकी छिन् । उनी भन्छन्, ‘मलाई झुक्याएर नाटकीय ढङ्गले शिशुको अपहरण गरियो ।’

किशोरीले दोषीमाथि कारवाही गरी आफ्नो शिशु सम्पर्कमा ल्याइदिन र आफूलाई न्याय दिन सरकारसँग आग्रह गरेकी छिन् । आरोपित युवा पक्राउ परिसकेकाले थप अनुसन्धानका लागि आज सम्बन्धित जुम्ला पठाइने सुर्खेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV