५ भाद्र २०७८, शनिबार

चितवन । पर्यटन ब्यवसायी तथा कवि सुमन घिमिरेले आफूले लेखेका दुई वटा कविता संग्रह पाठकलाई उपहार दिएका छन् । शनिबार सौराहामा रहेको आफ्नै होटलमा कार्यक्रमको आयोजना गरि कवि घिमिरेले नेपाली भाषाको कविता संग्रह ‘सूनको टप’ र अंग्रेजी भाषाको कविता संग्रह ‘साइक्लोन अफ फायर’ लोकार्पण गरि पाठकलाई उपहार दिएका हुन् ।

यी दुवै कविता संग्रहमा घिमिरेले मुलुकको समसामयीक विषयवस्तुलाई समेटेका छन् । ‘सूनको टप’ कविता संग्रह उनको दोस्रो कविता संग्रह हो । कविडाँडा साहित्य समाजले एक कार्यक्रमको आयोजना गरि कवि घिमिरेको “सुनको टप” र ‘साइक्लोन अफ फायर’ को नियात्राकार प्रतिक ढकालको हातबाट विमोचन गराएको हो ।

घिमिरेको “सुनको टप” कविता संग्रहमा ४१ वटा कविता समावेश रहेको छ । घिमिरेले नेपालको अतिक्रमित भूमि लिपुलेक र लिम्पियाधुरा कागजमा मात्रै फिर्ता भएको र ब्यवहारिक कार्यान्वयनका लागी काम नभएकाले सो कुरालाई आफ्नो कृतिमा राखेको बताए । सो विमोचन कार्यक्रममा कवि भूपिन र चेतराज रेग्मीले घिमिरेको दुवै कृतिको समीक्षा गरेका थिए ।

यस अघि घिमिरे २०६८ सालमा आफ्नो पहिलो कविता सँग्रह “मेरो बैंसको क्यालेण्डर” निकालेका थिए । घिमिरेले यसपटक भने दश वर्षको बीचमा लेखिएका प्रतिनिधि कविताहरुलाई स्थान दिएर “सुनको टप” र ‘साइक्लोन अफ फायर’ बजारमा ल्याएका हुन् ।
कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष साहित्यकर एलबी क्षेत्रीको अध्यक्षतामा सो कार्यक्रम सम्पन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV