५ भाद्र २०७८, शनिबार

काठमाडौं । माधव नेपाल समूहले औपचारिक रुपमा पार्टी विभाजन गरेपछि साे विभाजनमा साथ नदिएका एमालेका दोस्रो तहका नेताहरुले संयुक्त वक्तव्य निकालेका छन् ।

शुक्रबार बसुन्धरास्थित एक पार्टी प्यालेसमा भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेता अझै पनि पार्टी एकताको पक्षमा रहेकाे र पार्टीलाई एकताबद्ध बनाउने विषयमा भएको छलफलपछि संयुक्त वक्तव्य निकाल्दै पार्टी विभाजनको समाधान एमालेको स्थापित विधिमार्फत नै खोज्नु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

नेकपा एमाले तेश्रो धारको भेलाले विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा पार्टी एकता अत्यन्त महत्वपूर्ण भएको निष्कर्ष निकालेको छ । भेलापछि जारी संयुक्त वक्तव्यमा एमालेमा विभाजनको संकट आइलागेको बताउँदै थप विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट पार्टीलाई जोगाउने चुनौती अगाडि आएको बताइएको छ ।

वक्तव्यमा नेकपा (एमाले) लाई विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट जोगाउने चुनौती आफुहरु सामु आएको भन्दै पार्टीका सबै इमान्दार नेता, कार्यकर्ता र सदस्यहरुको सकारात्मक भूमिका अपरिहार्य रहेको उल्लेख गरिएको छ ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याउन देशी–विदेशी प्रतिक्रियावादीहरु लागिपरिरहेको स्थितिमा मतभेद र अन्तरविरोधहरुलाई पार्टीको आन्तरिक प्रक्रियाबाट समाधान गर्दै अघि बढ्नु बुद्धिमानी हुने जनाइएको छ ।

त्यस्तै राजनीतिक, सैद्धान्तिक र वैचारिक विषयहरुमा नेकपा (एमाले) को विधिसम्मत पद्धति अनुरुप पार्टी भित्र छलफल र बहसबाट निष्कर्ष निकाल्ने दिशामा अगाडि बढ्नुपर्नेमा समेत जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV