४ भाद्र २०७८, शुक्रबार

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वाथ्य समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले कक्षा १२ को परीक्षा स्थगित हुनु अस्वभाविक देखिएको भन्दै छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

समिति सभापति जयपुरी घर्तीले कोरोनाका कारण परीक्षा स्थगित हुन तथ्यसंगत पुष्टि नहुने बताइन् । अन्य क्षेत्र सञ्चालन हुँदा पनि कक्षा १२ को परीक्षा भने स्थगित गर्नु उचित नभएको उनको भनाइ छ ।

त्यस्तै उनले कुनै बिकल्प नै नदिएर परीक्षा स्थगत गर्नु गलत भएको धारणा राखिन् । अब छिटो परीक्षा गरेर निकास दिन उनले सुझाव दिइन् । बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परिक्षाको सवै तयारी पूरा गरेको अवस्थामा अन्तिम समयमा परिक्षा रोक्न सीसीएमसीबाट निर्देशन आएको तर्क गरे ।

स्वास्थ्यसम्बन्धी सवै प्रोटोकल पूरा गर्नेगरि परीक्षाको तयारी भएपनि अचानक परीक्षा रोक्न भनिएको उनले बताए । बैठकमा समिति सदस्यहरुले कक्षा १२ को परीक्षा रोक्नुको कुनै कारण नरहेको बताए ।

सांसद गिरिराजमणी पोखरेलले सीसीएमसी र स्वास्थ्य मन्त्रालयलाईसमेत छलफलमा बोलाएर परीक्षा सञ्चालन गर्न निर्देशन दिनुपर्ने बताए । उनले खोप लगाएर मात्रै नहुने भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गरेर परिक्षा लिनुपर्ने धारणा राखे ।

त्यस्तै सांसद जीवनराम श्रेष्ठले सीसीएमसीले अनावश्यक हस्तक्षेप गर्ने गरेको आरोप लगाए । परीक्षाको तालिका समेत सार्वजनिक भइरहेको अवस्थामा कोरोनाको जोखिमलाई देखाउदै सरकारले कक्षा १२ को परीक्षा स्थगित गरेको थियो । परीक्षा स्थगित कहिले हुने भन्ने अझै टुङ्गो लाग्न सकेको छै्रन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV