४ भाद्र २०७८, शुक्रबार
  • तारा आचार्य,

विराटनगर । प्रदेश १ को उत्तरी क्षेत्रमा उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रसारणसँग जोड्ने गरी निर्माण गरिएको कोशी कोरिडोर २२० केभी विद्युत प्रसारण लाइन सञ्चालनमा आएको छ । सुनसरीको इनरुव देखि संखुवासभाको तुम्लिङटार सम्मको करिब १ सय ६ किलोमिटर लामो प्रसारण लाइनमा ३ सय २६ वटा टावर निर्माण सम्पन्न भएका छन् ।

उक्त प्रसारण लाइन सञ्चालनमा आएपछि उत्तरी क्षेत्रमा विद्युत उत्पादन गरिरहेका निजी जलविद्युत केन्द्र र अरुण तमोरको विद्युत प्रवाहमा सहजता आउने बताइएको छ । भारतीय एक्जिम बैंकको करिब ३७ मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माण गरिएको कोशी कोरिडोर प्रसारण लाइनबाट २ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ ।

२०७४ सालदेखि निर्माण थालिएको भएपनि विभिन्न अवरोध र कोरोनाका कारण कोरिडोर निर्माणमा ढिलाई भएको कोशी कोरिडोर प्रसारण लाइन आयोजनाका आयोजना प्रमुख राजन ढकालले जानकारी दिए ।

विहीबार परीक्षण गरिएपछि अहिले ३३ केभी विद्युत प्रसारण शुरु भइसकेको र इनरुवामा सबस्टेशन निर्माणपछि पूर्ण क्षमतामा सञ्चालन हुने बताइएको छ । कोशी कोरिडोर प्रसारण लाइन संचालन भएपछि प्रसारण लाइन अभावमा उत्पादित विजुली खेर जाने समस्या समाधान भएको छ ।

त्यस्तै भोजपुर, सङ्खुवासभा र तेह्रथुममा बर्षा याममा ब्यहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV