४ भाद्र २०७८, शुक्रबार

काठमाडौं । कारबाहीको सिफारिस भएका माधवकुमार नेपाल पक्षका सांसदलाई तत्काल पदमुक्त गर्न माग गर्दै एमालेका सांसदहरु आज (शुक्रबार) पनि सभामुखको च्याम्बरमा पुगेका छन् ।

एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न सभामुखमाथि दबाव बढाउन सभामुख अग्नि सापकोटाको कार्यकक्षमा पुगेको हो । उनीहरु दुई घण्टा बस्दा पनि सभामुख सापकोटा भने आउनुभएन ।

सभामुख नआएपछि सचेतक शान्ता चौधरीले सभामुख सापकोटालाई फोन गर्नुभएको थियो । सभामुख सापकोटाले आफू बाहिर रहेको र आज आउन नसक्ने बताउनुभएको नेता चौधरीले जानकारी दिनुभयो ।

‘उहाँले हामीलाई फोनमार्फत विश्वस्त गराउनु भएको छ, म यथाशिघ्र छिट्टै गर्छु भन्नु भएको छ । भोलि तपाईंहरु आउनु पर्दैन भन्नु भएको छ’, सभामुख सापकोटालाई उदृत गर्दै  नेता चौधरीले भन्नुभयो, ‘आज पनि यस्तो गर्नुभयो भने एमालेले छाड्दैन, चुप लागेर बस्दै ।’

हिजो (बिहीबार) पनि एमाले सांसदहरुले सभामुख पूर्वाग्रही भएको आरोप लगाएपछि सभामुख आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, गोकुल बास्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, विमला विश्वकर्मा, गोमा देवकोटा, सूर्य पाठकलगायतका सांसद सभामुखलाई दबाब दिन गएका थिए।

पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ । सभामुखले भने आफूले कानून बमोजिम अध्ययन गर्ने बताएका छन् । एमालेले माधव नेपालसहितका १४ सांसदलाई साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV