३ भाद्र २०७८, बिहीबार
  • मुस्कान श्रेष्ठ,

वीरगञ्ज (पर्सा) । नेपाल युवा उद्यमी मञ्च वीरगन्जले मास्क अप वीरगञ्ज अभियान सञ्चलानमा ल्याएको छ । नेपाल सरकारको नेपाल मास्क अभियान अन्तर्गत नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज च्याप्टरले ‘म जिम्मेवार नेपाली’ नारासहितको मास्क अप वीरगञ्ज अभियान सञ्चालनमा ल्याएको हो ।

पर्सामा केही समय यता कोरोना नियन्त्रणमा सकारात्मक देखिएपनि नागरिकमा स्वास्थ्य मापदण्डलाई लिएर बढ्दो लापरवाहीको कारण कोरोना संक्रमण पुनः फैलिन सक्ने भएकोले जनचेतना फैलाउने अभिप्रायले वीरगञ्ज महानगरपालिकाको विभिन्न ठाउमा एनवाईईएफले होर्डिंग बोर्ड राख्ने कार्य शुरु गरेको छ ।

नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष अनुप अग्रवालले मुलुकमा पुनः संक्रमणको संख्या बढ्दै गएपनि नागरिकले जनस्वास्थ मापदण्डको पालना नगरेकोमा चिन्ता ब्यक्त गर्दै नेपाल सरकारको नेपाल मास्क अन्तरगत संस्थाले मास्क अप वीरगञ्ज अभियान सञ्चालन गरेको बताए । उनले कोरोना नियन्त्रणका लागि नागरिक आफै जिम्मेवार हुनुपर्ने भन्दै यो अभियानले वीरगञ्जबासीलाई सचेत गराउने कार्यमा सहयोग पु¥याउने विश्वास राखेका छन् ।

वीरगञ्ज महानगरपालिकाका प्रमूख विजय सरावगीले कोरोना रोकथामको लागि मास्क नै अन्तिम विकल्प रहेको बताए । उनले खोप लगाएका मानिसहरुमा अलि बढी लापरबाही देखिएकोमा चिन्ता ब्यक्त गर्दै कोरोनाका कारण खोप लगाएका केही व्यक्तिको पनि मृत्यु भएको र नयाँ–नयाँ भेरिएन्ट देखा परिरहेकोले यसलाई सामान्य रुपमा नलिन आग्रह पनि गरेका थिए ।

होर्डिंग बोर्डले मानिसलाई मास्क लगाउन अभिप्रेरित गर्ने बताउदै एनवाईईएफको यो कार्यको प्रशंसा गर्दै यस्तो सामाजिक कार्यमा महानगरको साथ र सहयोग सदैव रहने बताए । युवा उद्यमी तथा एनवाईईएफका अध्यक्ष अग्रवालले वीरगन्जका युवा उद्यमीहरु सधै सामाजिक कार्यमा अग्रसर रहेको र कोरोनाको लागि फण्ड समेत छुट्ट्याएको बताउदै उपयुक्त समयमा त्यसको सदुपयोग गर्ने बताए ।

कार्यक्रममा प्रहरी चौकी आदर्शनगरका प्रहरी नायब निरीक्षक हिरा बहादुर बुढाथोकी, ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, वीरगञ्ज साइक्लिड क्लबका अध्यक्ष सञ्जय अग्रवाल, व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्कीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV