३ भाद्र २०७८, बिहीबार

चितवन । अन्य कुनै प्रयोजनका लागि वद्यालयको भवन प्रयोग गर्न नदिने भन्दै बकुलहर माविले ज्ञापन–पत्र बुझाएको छ । सो विद्यालयले आज (विहीबार) रत्ननगर नगरपालिका कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र रत्ननगर वडा नं. १ कार्यालयमा पुगेर केही दिनदेखि जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रलाई ठाउँ अभाव भएको कारण देखाई स्कुलको पश्चिम तर्फको भवन प्रयोग गर्न दिने भन्ने विषयमा नगरपालिकाले निर्णय गरिसकेको भन्ने कुरा बाहिर आएको भएपनि सो को जानकारी विद्यालयलाई नरहेकाले कुनै पनि हालतमा विद्यालयको भवन अन्य प्रयोजनको लागि प्रयोग गर्न नदिने भन्दै ज्ञापन–पत्र बुझाएको हो ।

विद्यालयकी प्रधानाध्यापक कमला ढकालले विद्यालय सञ्चालनमा रहेको ठाउँ वरपर सुकुम्वासी, जनजाती, दलित, आदिवासीको उच्चचाप रहेको बताउदै उनले गरीब अभिभावकका बालबालिकाको बढ्दो जन्मदर साथै उच्च जनसंख्याको चापसाथै विद्यालय भर्ना हुने उमेर समूहका शिशु बालबालिकाको संख्या पनि धेरै रहेको ठाउँ भएकाले पनि उनीहरुको ब्यवस्थापनको लागि नै विद्यालयको जग्गा र भवन अझै पनि नपुग र कमी हुने बताइन् ।

ढकालले वि.सं. २०४१ सालमामा स्थापना भएको सो विद्यालयको इतिहास पनि लामो रहेको बताउदै हरेक वर्ष विद्यालयमा भर्ना भएका विद्यार्थीको नतिजा राम्रो आउने गरेको बताइन् । त्यस्तै यसवर्ष २०७८ को शुरुमै विश्वमहामारी कोभिडको संक्रमण कालीन अवस्था रहेपनि करिब ३२१ जना विद्यार्थी भर्ना भइसकेको र भर्नाको क्रम पनि निरन्तर जारी रहेको बताइन् ।

ढकालले अहिले विद्यालयको जग्गामा पहिले देखिनै भानु प्रेरणा पुस्तकालयको संस्था, दूर्गा र सरस्वती मन्दिर समेत रहेको बताइन् । उनले विद्यालयको उत्तरतर्फ रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जहाँ हाल निर्माणाधीन पक्की भवन समेत बनिरहेको अवस्थालाई मध्यनजर गर्दा विद्यालयले चर्चेको र विद्यार्थीको पठनपाठन भइरहेको विद्यालय भवनमा जिल्ला आयुर्वेदलाई पनि प्रयोगको लागि दिने भन्ने कुरा मान्य नहुने बताइन् ।

ढकालले अझ त्यसमा पनि रत्ननगर वडा नं १ को कार्यालयले एक पक्षीय रुपमा निर्णय गरी आयुर्वेदलाई भवन प्रयोग गर्न दिने भनेर सिफारिस गरेको सुन्दा आफूहरु अचम्मित भएको बताइन् । उनले विद्यालयलाई आधिकारिक पत्राचारसम्म पनि नगरी विद्यालयको सार्वजनिक सम्पति र सिङ्गो विद्यालयलाई नै प्रभावित हुने गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्रक्रिया अघि बढाउन खोजेकाले विद्यालय परिवारको गम्भीर ध्यानाकर्षण भएको बताइन् ।

विद्यालय जस्तो शिक्षाको ज्योतिलाई व्यवस्थापन गरी उज्यालो पार्नु पर्नेमा गरीब सुकुम्बासी र आदिवासी जनजातिले पढ्ने विद्यालयलाई सीमित घेराबन्दी गर्न खोजिएकोले सो कदम विद्यालयलाई किमार्थ मान्य नहुने बताउदै ढकालले विद्यालयले चर्चेको सीमित साघुरो जग्गामा निर्माण संरचनाको मापदण्ड, वैज्ञानिक मापन नपुग्ने साथै स्वास्थ्य केन्द्र र विद्यालय दुवै संस्था साँघुरो भई सञ्चालन हुन नसक्ने अवस्था रहेकाले त्यसको लागि विद्यालय परिवार सहमत नहुने बताइन् ।

विद्यालयको ज्ञापन–पत्र बुझ्दै रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले स्कुललाई समस्या पर्ने किसिमको कुनैपनि निर्णय नगर्ने बताउदै स्कुलमा अन्य केही कुरा थप गर्न मिल्ने वा नमिल्ने भन्ने कुरा विद्यालयले दिने विद्यार्थीको नतिजाबाट थाहा पाइने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV