२ भाद्र २०७८, बुधबार

काठमाडौं । नेकपा (एमाले) नेतृ अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्ने तय भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी एकतालाई जोगाउन कै लागि संसदीय दलको नेताबाट राजीनामा दिएर माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यलाई दलको नेता बनाएका छन् ।

मुख्यमन्त्री पौडेलले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएर शाक्यलाई आजै प्रदेशको नयाँ मुख्यमन्त्री बनाउने तयारी गरेका छन् । गृह जिल्ला झापा पुगेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं शपथ ग्रहण कार्यक्रमकै लागि बुधबार साँझ प्रदेश राजधानी हेटौंडा आइसकेका बताइएको छ ।

मुख्यमन्त्री बन्ने तयारीमा रहेकी नेतृ शाक्यले आफू कहिल्यै फुटमा नलागेको र पार्टीको सामूहिक नृतृत्वमा विश्वास गरेको बताएकी छन् । यता राजीनामा दिएका डोरमणि पौडेलले पनि अष्टलक्ष्मी शाक्यलाई पार्टी एकताको पक्षमा लडेको पुरस्कार स्वरुप मुख्यमन्त्री बनाउन लागिएको बताएका छन् ।

उनले पार्टी एकताको लागि आफूले त्याग गरेको बताउँदै पार्टी फुटेर जाँदा पनि एकताका पक्षमा लडेकी कारण अष्टलक्ष्मी शाक्यलाई पुरस्कार दिइएको बताएका छन् । बागमतीमा अब मुख्यमन्त्रीसहितको नयाँ मन्त्रिमण्डल गठन हुने भएको छ ।

आज मुख्यमन्त्री नियुक्ति तथा सपथग्रहण गर्ने र भोलि मन्त्रिमण्डल गठन गर्ने तयारी रहेको बताइएको छ । बागमती प्रदेश सभामा नेकपा (एमाले)बाट ५६ जना सांसद रहेका छन् । कुल ११० सांसद रहेका बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ, भने ओली पक्षका ३५ र माधव पक्षका २१ सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV