२ भाद्र २०७८, बुधबार
  • महेश पाण्डे,

चितवन । देशकै तेस्रो प्रमुख पर्यटकीय स्थल चितवनको सौराहा कोरोना संक्रमण हुनुअघि गुलजार थियो । यहाँका पर्यटन व्यवसायी देशविदेशबाट आइपुगेका पर्यटकको स्वागत सत्कारमा व्यस्त हुन्थे । होटल तथा रिसोर्टका मीठामीठा परिकारमा रमाउनेदेखि हात्ती वा सवारी चढेर जंगल सफारीमा जानेहरुको ताँती लाग्थ्यो ।

तर, कोरोना संक्रमण सुरु भएयता सौराहामा यस्ता दृश्य देखिन छोडेको छ । देशका अन्य क्षेत्रजस्तै सौराहाको पर्यटन पनि यतिबेला थला परेको अवस्थामा पुगेको छ । कोरोना संक्रमणको असर चितवनको सौराहाका पर्यटन व्यवसायी तथा श्रमिकमाथि नराम्रोसँग परेको छ ।

दिनप्रतिदिन कोरोना संक्रमण दर बढिरहदाँ र जिल्ला प्रशासन कार्यालय चितवनले निषेशाज्ञालाई कडाई गरि रहदा सौराहाका पर्यटन ब्यवसायी पलायन हुने स्थिति उत्पन्न भएको छ । सौराहाका ब्यवसायी, कर्मचारी, गाईड गरि करिब १५०० जनाले खोप लगाइ सकेको उल्लेख गर्दै क्षेत्रीय होटल संघ नेपाल चितवनले खोप लगाएका पर्यटक आउने व्यवस्था मिलाउन व्यवसायीले माग गरेको छ ।

उता रेष्टुरेन्ट एण्ड बार एसोसियसन अफ नेपाल सौराहाले पनि नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर बैंकबाट ऋण लिएर लगानी गरेको बताउँदै अहिले कोरोनाका कारण व्यवसाय ठप्प नहुँदा व्यवसायी अत्यन्तै मारमा परेको जनाएको छ ।

पर्यटकलाई घुमाएर दैनिक जीवनयापन गर्दै आएका गाइडहरु पनि आर्थिक समस्यामा परेका छन् । कतिपय त गाईड पेशा नै छोडेर बिदेश र कतिपय अरु नै पेशामा समेत लागिसकेका छन् । सौराहामा करिब १२० होटल र ८० को हाराहारीमा रहेका साना ठूला रेष्टुरेन्ट रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV