२ भाद्र २०७८, बुधबार
  • सन्तोश पौडेल,

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीकी ३८ वर्षीया सानिका राईलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी गम्भीर घाइते बनाएर फरार बनेको आरोपमा प्रहरीले स्थानीय दुई युवालाई पक्राउ गरेको छ ।

गत साउन १३ गते राति करिब १० बजे सुतिरहेको अवस्थामा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेको आरोपमा सानिकाकै दिदीको छोरा २८ वर्षीय टिशन राई र सोही स्थानका २७ वर्षीय मने भनिने कुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग कसुर अन्तरगत मुद्दा दर्ता गरेर कारबाहीको लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिए । पक्राउ परेका उनीहरुविरुद्ध थप अनुसन्धान गर्न जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप गरिएको जनाइएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएका टोलीले उनीहरुलाई मङ्गलबार दिउँसो ३ बजे आ–आफ्नै घरमा लुकिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए ।

“पक्राउ परिएका उनीहरु दुवै जनाले घटनाबारे स्वीकार गरिसकेका छन्”, उनले भने, “उनीहरुले प्रयोग गरेको धारिलो हतियार (खुकुरी) र रगत लागेको कपडा (भेष्ट)समेत सार्कीको घरबाट बरामद गरिएको छ ।”

खुकुरी प्रहारबाट गम्भीर घाइते सानिकाको ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको उनका आफन्तले बताएका छन् । घटनापछि जिल्लास्थित स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि बिएण्डबी अस्पताल ललितपुर पु¥याएको सानिकाको शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो ।

घटनापछि बेहोस् अवस्थामै अस्पताल पु-याइएको सानिकाको स्वास्थ्य अवस्था पछिल्लो समय सुधारोन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ । विवाह गरेपनि माइतीघर बस्दै आएकी सानिकाको टाउको, हात, चिउँडोलगायत शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV