२ भाद्र २०७८, बुधबार

काठमाडौं । एउटा कहालीलाग्दो अवस्था नजिक पुगेर १ सय १८ जना नेपाली मुहारमा हर्ष लिएर स्वदेश फर्केका छन् । अफगानिस्तानमा फर्किएको बन्दुकको युगपछि त्यहाँ कार्यरत सयौ नेपाली मध्ये केही भाग्यमानी नेपाली मंगलबार स्वदेश आइपुगेका हुन् ।

काबुलस्थित अमेरिकी दूतावाससहित बिभिन्न अमेरिकी कम्पनीमा कार्यरत नेपालीहरु स्वदेश फर्कदा फर्कन बाँकी अझै पनि धेरै नेपालीका बारेमा सरकारले प्रक्रिया अघि बढाएको छ । तर अनौपचारिक क्षेत्रमा कार्यरत अझै पनि धेरै नेपालीको बारेमा औपचारिक कुनै जानकारी आउन सकेको छैन ।

अफगानिस्तानमा शान्ति छाएपछि त्यहाँ पुग्ने नेपालीहरुको संख्या ठूलो छ । विशेषत अफगानिस्तानमा अमेरिकी दूतावास, युरोपेली संघ, संयुक्त राष्ट्रसंघ, क्यानडेली दूतावास, विश्व बैंक, बेलायती दूतावास, जापानी दूतावास, जर्मनी दूतावास, बरोन होटल र ग्रिन भिलेजमा गरि १५ सय बढी नेपाली कार्यरत छन् ।

यिनीहरु सबै औपचारिक क्षेत्रमा कार्यरत रहदा यिनीहरुको उद्दारमा सहज भएको हो । तर पनि यसरी नै औपचारिक क्षेत्रमा कार्यरत धेरै नेपालीहरुको उद्दार हुन बाँकी छ । काबुल विमानस्थलमा उडानको प्रतीक्षामा अझै पनि धेरै नेपालीहरु रहेका छन् ।

सबै नेपालीहरु गोलबद्ध भएर एकै ठाउँ बसिरहेको र यसरी बस्नेहरुको संख्या ५ सय बढी भएको नेपाल फर्किएकाहरुले बताएका छन् । अमेरिकी दूतावास र उस्का निकायहरुमा काम गर्ने ३ सय ८५ बढी नेपालीलाई भने काबुलको अवस्था काबु बाहिर जाने वित्तिकै कतारको दोहा पुर्याइएको छ । अमेरिकी दूतावासमा मात्र ६ सय बढी नेपाली कार्यरत छ्न । जसमध्ये १ सय १८ जना स्वदेश फर्किए । फर्किनेहरु खुसी छन् – उनीहरुको सास जोगिदा तर दुःखी पनि छन उनीहरुको गाँस खोसिदा ।

कतारको दोहाबाट कुवेत हुँदै काठमाडौ

मंगलबार विहान जजिरा एयरलाईन्सबाट काठमाडौं उत्रिएका १ सय २७ मध्ये १ सय १८ जना नेपाली हुन । बाँकी नौ जना भारतीय नागरिक । तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत कर्मचारीहरुको उद्दार गर्ने क्रममा नेपाली नागरिकहरुलाई पनि उद्धार गरेर कतारको दोहा पुर्याइएको थियो । मंगलबार विहान उनीहरुले कुबेत हुँदै काठमाडौं ल्याइएको हो ।

अन्य नेपालीको उद्दार चाँडै होस्

यसरी फर्किनेहरुले आफुहरु सुरक्षितरुपमा नेपाल फर्किएपनि अफगानिस्तानमा रहेका अन्य नेपालीहरुको बारेमा भने उनीहरुले चिन्ता व्यक्त गरेका छन् । अवैधानिक बाटोबाट अफगानिस्तान पुगेका र अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुको पनि सरकारले छिटो उद्दार नगरे उनीहरुको अवस्था नाजुक बन्न सक्ने पनि उनीहरुको भनाइ छ ।

काबुलको अवस्था काबु बाहिर

तालिवानले पुनःअफगानिस्तानको सत्ता कब्जा गरेपछि काबुलको अवस्था काबु बाहिर गएको थियो । राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि तालिवानले सहजै पुनः शासन सत्तामा कब्जा जमाएको छ । यसपछि अवस्था विग्रदा सयौ नेपालीको गतिलो रोजगारी गुमाएका छन् । बिभिन्न देशको दूतावास र अन्तर्राष्ट्रिय निकायहरुमा काम गर्ने नेपालीहरुको आयस्तर पनि धेरै राम्रो थियो । तर फर्किदा धेरैले गतिलो रोजगारी गुमाएको महसुस गरेका छन् ।

सम्पर्कमा आउँदैछन् अफगानिस्तानमा फसेका नेपालीहरु

यसरी औपचारिक क्षेत्र अर्थात ग्रिन जोनमा काम गर्ने नेपालीको संख्या १५ सय बढी भएपनि अवैधानिक बाटोबाट गएर अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीको भने औपचारिक संख्या पत्ता लाग्न सकेको छैन । यद्धपि सोमबार साँझसम्ममा यसरी काम गर्ने १ सय ४५ नेपाली सम्पर्कमा आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसरी फर्किनेहरुले पनि अब अफगानिस्तान नेपालीका लागि लामो समयसम्म सहज नहुने बताएका छन् ।

अफगानिस्तानबाट फर्किएका नेपालीहरुलाई लिन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो । फर्किदा उनीहरुको विमानस्थलमा एन्टिजेन टेष्ट समेत गरिएको थियो । हाल उनीहरुलाई सामाखुसीस्थित एक क्वारेन्टाइनमा राखिएको छ ।

उद्दारका लागि परराष्ट्रले अपनायो दुई सुत्र

यता परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा कार्यरत नेपालीहरुको उद्धार लागि दुइटा सुत्र अपनाएको छ । वैधानिक बाटोबाट श्रम स्वीकृति लिएर गएकाहरूको उद्धारका लागि उनीहरू कार्यरत अन्तर्राष्ट्रिय निकायसंग आग्रह गरेको छ ।

अमेरिकी दूतावास, युरोपेली संघ, संयुक्त राष्ट्रसंघ, क्यानडेली दूतावास, विश्व बैंक, बेलायती दूतावास, जापानी दूतावास, जर्मनी दूतावासलगायतका निकायमा काम गर्नेहरुका लागि सम्बन्धित निकायलाई उद्दारको लागि आग्रह गरेको छ ।

यस्तै आफ्नै हिसाबले अर्थात अवैधानिक बाटोबाट गएर ग्रिन जोन भन्दा बाहिर गएर अर्थात रेडजोनमा काम गर्नेहरुको हकमा भने परराष्ट्र मन्त्रालयले तथ्यांक संकलन गर्ने काम गरिरहेको छ । कुन शहरमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक पत्ता लगोपछि सरकारले उनीहरुको उद्दारका लागि विमान पठाउने तयारी गरेको छ ।

(भिडियो)

LIVE TV