
- दान बहादुर बुढा,
मुगु । कोरोना महामारीको तेस्रो लहर फैलिन थालेपछि हिमाली जिल्ला मुगुमा मास्क बैंक स्थापना गरिएको छ । ‘लायन्स क्लब अफ मुगु–रारा’को अगुवाई तथा सरोकारवाला निकायहरुको सहकार्यमा मुगुको सदरमुकाम गमगढी बजारमा मास्क बैंक सञ्चालनमा ल्याइएको हो ।
‘हुनेले दिउँ, नहुनेले लिउँ’ भन्ने नाराका साथ स्थापना गरिएको मास्क बैंक सञ्चालनका लागि छायाँनाथ रारा नगरपालिका, जिल्ला स्वास्थ्य सेवा कार्यालय, छायाँनाथ सहकारी, मुगु उद्योग बाणिज्य संघ, एनआईसी एसिया बैंक, डिप्रोस लघुवित्त, महाकाली नमुना माद्यामिक विद्यालय, सिदार्थ नेसनल बोर्डिङ्ग स्कुल, नेपाल पत्रकार महासंघ मुगु शाखा, हिरिसडेक मुगु, हामो्र सानो प्रयास काठमाडौंले मास्क सहयोग गरेको लायन्स क्लव अफ रारा मुगुका चार्टर प्रेसिडेन्ट विनोद कुमार मल्लले जानकारी दिए ।
जिल्लाको सदरमुकामलगायतका विभिन्न स्थानमा विना मास्क खुल्लम खुल्ला मानिसहरुको चहलपहल बढेपछि कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि पैसाको अभावमा मास्क प्रयोग गर्न नसकेकालाई निशुल्क मास्क दिन र पैसा भएकाहरुले मास्क प्रदान गरोस् भन्ने उदेश्यले माक्स बैंकका सञ्चालन गरिएको लायन्स क्लवले जनाएको छ ।
‘हामीले पहिलो चरणमा बजार क्षेत्रमा आउने सर्वसाधारणलाई लक्षित गर्दै माक्स बैंक सञ्चालन गरेका हौं । सहयोगी दाताहरुको सहयोगको आधारमा जिल्लाका अन्य ग्रामीण बजार क्षेत्रमा पनि मास्क बैंक स्थापना गरिने छ’, चार्टर प्रेसिडेन्ट मल्लले भने ।
मास्क बैंक उद्घाटन गर्दै छायाँनाथ रारा नगर पालिकाका नगर प्रमुख हरिजंग शाहीले सरकारको एक्लो प्रयासले मात्र कारोना संक्रमण नियन्त्रण गर्न नसकिने भएकाले निजी तथा समाजिक क्षेत्रको पनि सहयोग र संलग्नता राज्यलाई चाहिएको बताए ।