१ भाद्र २०७८, मंगलवार

काठमाडौँ । अफगानिस्तानबाट उद्धार गरिएका नेपालीहरु काठमाडौं आइपुगेका छन् । अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीलाई जजिरा एयरको विमानमार्फत् बिहान सवा १० बजेतिर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो ।

तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत कर्मचारीहरुको उद्दार गरेको थियो । त्यसक्रममा नेपालीहरुलाई पनि उद्धार गरेर कतारको दोहा पुर्याइएको थियो । त्यहाँबाट काठमाडौँ अवतरण गराइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उद्धार गरी ल्याइएकामध्ये ११८ जना नेपाली र ९ जना भारतीय नागरिक रहेकाे बताइएकाे छ ।

सरकारले त्यहाँ रहेका नेपाललाई सकुशल उद्धारका लागि समन्वयात्मक ढङ्गले काम गर्न आफ्ना मातहतका निकायलाई निर्देश गरिसकेको छ । सोमबार भएको मन्त्रिपरिषद् बैठकले त्यहाँ रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको थियो ।

अफगानिस्तानको विकसित घटनाका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उनीहरुको उद्धार गर्न सरकारले शनिबार एक कार्यदल गठन गरेको थियो । परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखहरु एवं अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सोसरहका सदस्य रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV