३२ श्रावण २०७८, सोमबार

काठमाडौँ । अमेरिकाले पूर्णरुपमा हात झिकेको १ महिना १२ दिनपछि अफगानिस्तानमा पुनः तालिवानले कब्जा जमाएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हिजो शनिबारसम्म लिएको अडानलाई आइतबार असफल गराउँदै तालिवानले राजधानी काबुल कब्जामा लिइसकेका छन् । राष्ट्रपति घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छोडेर भागिसकेका छन् ।

यो अवस्था आउँदा विभिन्न अन्तर्राष्ट्रिय निकायमा काम गर्ने नेपालीहरुको विषयलाई लिएर देशभित्र भने चिन्ता बढेको छ । अफगानिस्तानमा अमेरिकी दूतावास, युरोपेली संघ, संयुक्त राष्ट्रसंघ, क्यानडेली दूतावास, विश्व बैंक, बेलायती दूतावास, बरोन होटल र ग्रिन भिलेजमा गरि १५ सय बढी नेपाली कार्यरत छन् ।

त्यसमध्ये अमेरिकी दूतावासमा कार्यरत ३ सय बढी नेपालको उद्दारका लागि अमेरिकाले पहल गर्ने भएको छ । यस अघि अमेरिकी सेनाका लागि काम गर्ने फ्लोर कम्पनीले आफूसँग भएका झन्डै १ सय ५० जना नेपालीको उद्दार गरेर दुबई लगेर राखेको छ । अझै अफगानिस्तानमा रहेका ११ सय बढी नेपाली कामदारको बारेमा भने के गर्ने भन्नेबारेमा अझै पनि कुनै पनि निकायले कुनै निर्णय लिन सकेको छैन ।

नेपाल सरकारले बिभिन्न संस्थामा कार्यरत नेपालीहरुको उद्दारका लागि ती संस्थाहरुलाई आग्रह गरिसकेको छ भने अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुकोबारेमा अध्ययन गर्न सहसचिवको नेतृत्वका समिति समेत बनाएको छ । औपचारिक क्षेत्रमा काम गर्ने १५ सय भएपनि अनौपचारिक क्षेत्रका काम गर्ने नेपालीको संख्या कति छ कुनै यकिन तथ्यांक कसैसंग छैन । यसैबीच वैदेशिक रोजगार विभागले अफगानिस्तानमा रोजगारीका लागि नेपाली पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण विवरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन

अफगानिस्तानको अवस्था चिन्ताग्रस्त बनेपछि संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीहरुलाई हवाई तथा अन्य बाटोबाट उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न निर्देशन दिदै ढिलाइ नगर्न पनि सरकारलाई सुझाएको छ ।

बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले अफगानिस्तानको औपचारिक क्षेत्रमा कार्यरत करिब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको बताए । अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरु कति छन् यकिन नभएकोले उनीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको समेत सचिव पौडेलको कथन छ ।

अनौैपचारिक क्षेत्रमा काम गर्ने नेपालीको तथ्यांक छैन

अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीबारे अध्ययन गर्न सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको छ । जसमा सीसीएमसीका साथै गृह, पर्यटन मन्त्रालयका प्रतिनिधि छन् । औपचारिक क्षेत्रमा काम गर्ने नेपालीको संख्या यकिन भएपनि अनौपचारिक क्षेत्रमा काम गर्ने नेपालीको कुनै यकिन तथ्यांक नहुँदा उद्दारमा समस्या हुने सक्ने आशंका गर्न थालिएको छ ।

अमेरिकाले लियो आफ्नो दूतावासमा कार्यरत नेपालीको जिम्मेवारी

अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावासमा काम गर्ने ३ सय नेपालीलाई कुनै पनि समयमा अमेरिकी विमानले काठमाडौं उतार्ने सम्भावना रहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसारमा अमेरिकी दूतावासमा काम गर्ने नेपालीसहित अन्य देशका नागरिकलाई शनिबार राति नै तयार भएर रहन निर्देशन दिएको छ । अमेरिकाले दुई दशक पछि अफगानिस्तान छाड्दा अहिले तालिवानले तीब्ररुपमा त्यो देशलाई आफ्नो कब्जामा पार्दै लगेको छ ।

बाँकी नेपालीको उद्धार कस्ले गर्ने ?

अमेरिकी सरकार र उस्का निकायले अफगानिस्तानमा कार्यरत नेपालीको सुरक्षाको बारेमा जिम्मेवारी लिइसके पनि अन्य संस्था र कम्पनीहरुले भने कुनै धारणा अहिलेसम्म सर्वाजनिक गरेका छैनन् ।

अमेरिकी दूतावासलगायत युरोपेली संघ, संयुक्त राष्ट्रसंघ, क्यानडेली दूतावास, विश्व बैंक, बेलायती दूतावास, बरोन होटल र ग्रिन भिलेजमा १५ सय जति नेपालीहरु कार्यरत छन् । यी संस्थामा नेपालीहरुले कार्यालय सहयोगी, प्रशासनिक कर्मचारी, सुरक्षागार्ड र ड्राइभरकोरुपमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV