३२ श्रावण २०७८, सोमबार

काठमाडौं । उडाउने सपना देखाउनेहरुको न यो देशमा कहिल्यै कमि हुने भयो नत सपनामा बेचिने युवाहरुको नै । विश्वासिलो वातावरण बनाएर र ठग्नका लागि सबै तारतम्य मिलाएर यसरी जाल हानिन्छ कि ठगिनेहरु जालमा पर्दैछु भन्ने कहिंकतै शंका गर्ने ठाउँसम्म पनि पाउँदैनन । त्यसमाथि ठगिनेहरु बढी शिक्षित र टाठाबाठा नै बढी छन भने ठग्नेहरुलाई कुनै कारवाही हुन नसक्दा घटना हरेक दिन बढ्दो छ । विदेश पठाइदिने भन्दै हरेक बर्ष वैदेशिक रोगजार विभागमा उजुरीको चाङ नै लाग्ने गर्छ । तर ठग्नेहरुमाथि कारवाही र ठगिएकाहरुको रकम भरपाईको घटना कमै सुन्न पाइन्छ । अब त म्यानपावर कम्पनीहरुमात्र नभई अन्य विभिन्न नाममा खुलेका संस्थाहरु पनि यही ठगी धन्दामा अग्रसर भएका छन् ।

पछिल्लो ६ बर्षमा नेपालमा नौ हजार बढी युवाहरु ठगिदा उनीहरुले पाँच अर्ब बढी रकम गुमाएका छन् । मुलुकका लागि रेमिट्यान्स मनग्ये पठाउने वैदेशिक रोजगारीका क्षेत्र सरकारका लागि सुनको फूल पार्ने कुखुरी नै बनेपनि यस्लाई व्यवस्थित र मर्यादित बनाउन नसक्दा यो क्षेत्र बदनाम पनि उत्तिकै बन्दै आएको छ । यही क्रममा सिंगापुर उडाइदिने नाममा ५ सय बढी युवाहरुबाट २८ देखि ३० करोडसम्म ठगेर एक व्यक्ति बेपत्ता भएका छन् ।

सिंगापुरमा बिभिन्न क्षेत्रमा राम्रो काम लगाइदिने आश्वासन दिएर काठमाडौंकोे समृद्धि अवोर्ड प्रालिका सञ्चालक धादिङका सञ्जीव रायमाझी उर्फ रमेश वयलकोटी ५ सय बढी युवाहरुबाट १ देखि ९ लाखसम्म उठाएर फरार भएका छन् । बयलकोटी वेपत्ता भएपछि ठगिएका युवाहरु बिभिन्न निकाय धाउँदै हारगुहार गर्न थालेका छन् । धेरै युवाहरु गाउँठाउँमा नै भएकोले म्यानपावर कम्पनी भागेको र आफुहरु ठगिएकोबारेमा अझै जानकारी पाउन सकेका छैनन् । ठग्ने म्यानपावरका सञ्चालक बयलकोटीकोबारेमा ठगीमा परेका युवाहरुले सरोकारवाला निकाय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग समेत उजुरी दिएका छन् ।

कल्पनाको शयर… 

धेरैले कल्पनाको शयर सुरु गरिसकेका थिए । सिंगापुर पुग्ने र टन्न कमाउने । उनीहरुको कल्पनामा उनीहरुका परिवारको सुखशान्ति र हाँसोखुसी समेत जोडिसकिएको थियो । तर कल्पना आखिर कल्पना नै हो । यस्तै भयो ती युवाहरुका लागि पनि । अहिले उनीहरु सपनाबाट व्युँतएिको अवस्थामा छन् ।

५ सय बढी युवाहरुको अहिले ओठ र तालु सुकेको छ । उनीहरु रातोदिन रमेश बयलकोटीको खोजीमा छन् । जस्ले उनीहरुलाई सिंगापुरको सुन्दर सपना सजाउन विवश तुल्याएका थिए । फसेका धेरै युवाहरु अब रकममात्र भएपनि फिर्ता गरिदिए हुन्थ्यो भन्ने अवस्थामा पुगेका छन् ।

हरेक भेटमा चिप्लो कुरा

विगत ६ महिनादेखि युवाहरुलाई बयलकोटीले लठ्याउँदै आएका थिए । उनीहरुलाई एकपछि अर्को गर्दै झुठो आश्वासन दिएर बयलकोटीले मन्त्रमुग्ध पारेका थिए । जस्ले गर्दा हरेक भेटमा उनीहरु बयलकोटीको भ्रमको जालोमा बेरिन पुगेका थिए ।

प्रत्येकबाट १ लाखदेखि ९ लाखसम्म ठगियो

धादिङ पण्डित पौवाका बयलकोटीले तत्काल दिनसक्नेहरुबाट १ लाखदेखि ९ लाखसम्म उठाए । सिंगापुर उडाउने मिति पनि उनले फरक फरक तोक्दै आए । गाँउमा नै काठ काण्डदेखि बिभिन्न काण्डमा मुछिएका बयलकोटी कराते खेलाडी समेत हुन् । उनका परिवारको अधिकांश सदस्य बिभिन्न फौजदारी अभियोगमा मुछिएका समेत छन् । बयलकोटीको बारेमा पछिल्लो समय प्रहरीले खोजी कार्य समेत तीब्र पारेपनि फेला पार्न नसक्दा फसेका पीडितहरु निराश बन्न थालेका छन् ।

उद्दार गरिदिन ठगिएका युवाहरुको पुकार

ठगिएकाहरु न्यूज २४ टेलिभिजनको कार्यालयमा आएर आफुहरुको उद्दार गरिदिन आग्रह गरेका छन् । आफुहरुले विश्वासमा पर्दा ठूलो रकम गुमाएको र यो रकम चुक्ता गर्न पनि आफुहरुलाई अब हम्मे हम्मे पर्ने भनाइ उनीहरुको थियो ।

ठगी गरेर फरार रहेको भनिएका रमेश बयलकोटी केही दिन अघिसम्म धादिङको थाक्रेमा धुम्दै हिडेको देख्नेहरु पनि नभएका होइनन् । तर उनी पक्राउ पर्न नसकेको दावी प्रहरीले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV