३१ श्रावण २०७८, आईतवार
  • मुस्कान श्रेष्ठ,

पर्सा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जिल्ला प्रहरी कार्यालय पर्सामा सीसीटीभी मोनिटरिङ कक्ष तथा एलईडी भिडियो वालको उद्घाटन गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगञ्ज उद्योग वाणिज्य संघ पर्साको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा मुख्यमन्त्री राउतले वीरगञ्जमा अपराधिक गतिविधि नियन्त्रणमा सीसीटीभी क्यामेराको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले उद्घाटन कार्यक्रममा सीसीटीभी मोनिटरिङ कक्ष निर्माण पश्चात अब प्रहरीलाई वीरगञ्जका विभिन्न क्षेत्रभित्र भइरहेको गतिविधिलाई निगरानी राख्न सजिलो हुने बताए । उनले पछिल्लो समय प्रदेश २ मा अपराधका घटनाहरुमा वृद्धि भएको भन्दै उद्योगी व्यवसायी तथा आमनागरिकले असुरक्षित महसुस गरिरहकेको बताउदै उनीहरुलाई सुरक्षित महशुस गराउन प्रहरीको भूमिका निकै महत्वपूर्ण रहेको बताए ।

साथै उनले बिस्तारै वरगञ्जका गल्ली तथा टोलहरुमा सीसीटीभी क्यामेरा जडान गर्ने प्रतिबद्धता पनि गरे । मुख्यमन्त्री निर्वाचन क्षेत्र विकास कार्यक्रमको ३२ लाखको आर्थिक सहयोगमा सेफर वीरगञ्जमार्फत् १२×१२ फिटको एलईडी टीभी तथा मोनिटरिङ कक्ष उद्घाटन कार्यक्रममा प्रदेश नं. २ प्रदेश सभा सदस्यहरू प्रह्लाद गिरी, सिंगासन साह कलवार, जन्नत अन्सारी र मञ्जुर आलम, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, प्रदेश नम्बर २ का प्रमुख प्रहरी नायब महानिरिक्षक उमेश रञ्जितकार, पर्सा प्रहरीका प्रमुख बेल बहादुर पाण्डे, उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष सुबोध कुमार गुप्ता, उद्योगी–व्यावसायी, समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिब मनोज दासको अध्यक्षतामा समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । सीसीटीभी मोनिटरिङ कक्ष निर्माण पश्चात पर्सा प्रहरीलाई विभिन्न घटनाको अनुसन्धान गर्नका लागि सहज हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV