३१ श्रावण २०७८, आईतवार

रौहतट । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको धार्मिक पर्यटकिय स्थल नुनथर दिनानुदिन प्रदुषित बन्दै गइरहेको छ ।

संरक्षण, प्रवद्र्धन र सञ्चालनको जिम्मा पाएको नुनथर क्षेत्र विकास समितिले सो क्षेत्रमा उत्पादित फोहोर व्यवस्थापन गर्न नसक्दा वरपर जताजतै फोहोरका थुप्रोहरु देखिन थालेका छन् ।

नुनथर घुम्न आउने पर्यटक, तिर्थालु, पिकनिक खान आउनेहरु एवम् सो क्षेत्र वरपर सञ्चालन अनुमति पाएका होटलहरुबाट निस्कने फोहोरको सही व्यवस्थापन हुन नसक्दा नुनथर क्षेत्रका साथै बागमती नदि पनि प्रदुषित भइरहेको छ ।

अहिले बागमती नदि किनारमा प्लाष्टिकका खोलहरु, पेय पर्दाथका खाली बोतलहरु, पानीका प्लाष्टिकका बोतलहरु, रक्सी तथा वियरका बोतलहरु जताजतै देख्न सकिन्छ ।

यसरी नदि किनारमा थुप्रिएका फोहरहरु पानीले बगाएर सोर्झै बागमती नदिमा मिसाइदिने गरेको छ । जसले गर्दा अहिलेसम्म सफा रहेको रौतहटको बागमती पनि काठमाडौँको बागमतीजस्तै फोहोर हुने हो कि भन्ने चिन्ता स्थानियमा बढ्न थालेको छ ।

भगवान शिव पार्वतीसँग आस्था जोडिएको नुनथर र बागमती क्षेत्रमा फोहोर बढ्न थाल्नु दुःखद् भएको बारा जिल्लाबाट आएका एक बोलबम तिर्थालुले गुनासो गरे ।

उनले भगवान शिव पार्वतीको पवित्र भूमि नुनथर र हिन्दुहरुको पवित्र नदि बागमती प्रदुषित हुँदा पनि सरोकारवाला निकायले यसमा ध्यान नदिएको देखिएको बताए ।

रौतहट, सलार्ही, मकवानपुर र सिन्धुली जिल्लाको संगमस्थलको रुपमा रहेको नुनथर क्षेत्र प्राकृतिक रुपमा पनि निकै सुन्दर रहेको छ । यहाँको प्राकृतिक सुन्दरताको आनन्द लिन विभिन्न छिमेकी जिल्लाको मात्र नभएर छिमेकी मुलुक भारतबाट पनि ठुलो संख्यामा पर्यटकहरु आउने गरेका छन् ।

यसरी आउने पर्यटकहरु भने त्यहाँ बढ्दै गइरहेको फोहोर देखेर खिन्न हुने गरेका छन् । नुनथर पार्क भित्र केही स्थानहरुमा फोहोर संकलनका लागि डस्विनहरु राखिएपनि त्यसको सदुपयोग भएको छैन् । केही डस्बिनहरु फुटेर कामै नलाग्ने भएका छन् अधिकासं डस्बिन बाहिरनै फोहोर फालिएका हुन्छन् ।

नुनथर र बागमतीको महत्व र सौन्दर्यतालाई जोगाइ राख्न नुनथर क्षेत्र विकास समिति र चन्द्रपुर नगरपालिकाले तुरुन्त चासो दिएर फोहोरको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने नेपाली काँग्रेस रौतहट क्षेत्र नम्बर ४ का क्षेत्रिय सचिव विनोद गुप्ताको भनाइ छ ।

‘यदि सही समयमै नुनथरको फोहोरको व्यवस्थापन नहुने हो भने नुनथर क्षेत्रको सुन्दरतामा मात्र होइन बागमतीको सभ्यतामा पनि यसले असर गर्छ’ उनले चिन्ता व्यक्त गर्दै भने, ‘ जथाभावी थुप्रिएका फोहोर अनि बागमती नदिमानै फ्यालिएका फोहोरले सो क्षेत्रलाईनै कुरुप बनाइरहेको हो । यसको समाधान तत्कालै खोज्न जरुरी छ ।’

यता नुनथर क्षेत्र विकास समितिले भने आफुहरु नुनथर क्षेत्रभित्र उत्पादन हुने फोहोरको व्यवस्थापनको लागि योजनावद्ध हिसाबले लागि रहेको दावी गरेको छ ।

सो क्षेत्रका व्यवस्थापक समिर कार्कीका अनुसार समितिले कुहिने फोहोरलाई ठुलो खाडल खनेर जम्मा गर्ने अनि नकुहिने फोहोरलाई एक ठाउँमा संकलन गरेर व्यवस्थापन गर्ने तयारीमा गरिरहेको छ ।

उनले समितिले सो क्षेत्रको फोहोरमैला व्यवस्थापनको लागि फोहोर टिप्ने कर्मचारीहरु पनि राखेको बताउँदै अहिले देखिएको फोहोरको दिर्घकालिन समाधानको लागि समित योजनावद्ध ढंगले अघि बढिरहेको जिकिर गरे ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV