३० श्रावण २०७८, शनिबार
  • सुशील ढुङ्गाना,

कैलाली । खोलानाला, कुलो र ताल क्षेत्रको जग्गा समेत अतिक्रमण गरि धमाधम संरचना निर्माण गरेपछि धनगढी उपमहानगरपालिका धेरै वस्तीहरु डुवानमा पर्दै आएका छन् । उपमहानगर भित्रै पनि पानी तथा ढल निकास हुने नाला पुरेर सडक बनाउने प्रवृति बढेपछि डुवानले हरेक बर्ष नगरवासीहरुलाई सास्तीमाथि सास्ती थप्न थालेको छ ।

विहीबार रातिदेखिको अविरल वर्षाले उप–महानगरपालिकाका वडा नम्बर १, २, ३, ५, ६ ७ र ८ बढी डुवानमा परेका छन् । यी वडाहरुको अधिकांश घर र पसलमा पानी पसेको छ । यी वडाहरु विगत लामो समयदेखि वर्षात्को समयमा डुवानमा पर्दै आइरहेका छन् ।

पछिल्लो समय पानी निकास हुने नाला पुरेर सडक बनाउनुको साथै विभिन्न प्राकृतिक खोलानालाहरु अतिक्रमण गरेर पक्की संरचना निर्माण कार्य तीव्र भएकोले डुवान समस्यासमेत विकराल बन्न थालेको स्थानीयको गुनासो छ ।

तत्कालीन नगर विकास समितिले पैसा असुल्दै सार्वजनिक खोला, नाला, कुलो र ताल आसपासको जग्गासमेत बिक्री गरेको थियो भने सोही जग्गामा संरचना निर्माण गर्न उप–महानगरपालिकाले नक्सापास गरिदिनु धनगढीवासीका लागि दूर्भाग्य भएको छ ।

धनगढीका सडकको अवस्था र डुवानको कारण बाहिरबाट धनगढी कामका लागि आउने र धनगढीवासीले मात्र नभइ विद्यार्थीहरुले समेत निक्कै सास्ती भोग्नु परेको छ ।

धनगढी उप–महानगरपालका क्षेत्रका खोलानाला बिक्री गर्ने वर्तमान नगर प्रमुख नृपबहादुर वड नै रहेको स्थानीयवासीको आरोप छ । अहिलेका नगर प्रमुख वड तत्कालीन धनगढी नगर विकास समितिको अध्यक्ष हुँदाको समयमा धनगढी क्षेत्रका सबै भन्दा बढी सार्वजनिक खोला, नाला तथा ताल क्षेत्र रहेको स्थानमा लालपूर्जा वितरण गरेका स्थानीयले देखेका छन् ।

उता धनगढी उप– महानगरपालिका कै सबै भन्दा बढी डुवान हुने क्षेत्र मानिएको वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले तीनै तहका सरकारले डुवान समस्या समाधानको लागि सहयोग नगरेको आरोप लगाउनुभयो ।

पसल अगाडि पानी जम्ने गर्दा व्यापारीहरु आफूहरुको व्यवसाय चौपट बन्ने चिन्तामा छन । यस्तै सुदूरपश्चिम प्रदेशकै प्रमुख व्यापारिक केन्द्र तथा यस प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा रहेका अधिकांश सरकारी कार्यालयहरु समेत डुवानमा पर्ने गरेका छन् । तर कतैबाट समस्या समाधानका लागि कुनै पहल भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV