३० श्रावण २०७८, शनिबार

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपालमा पनि कालो ढुसी (ब्ल्याक फंगस) अर्थात् म्युकरकाइकोसिसका बिरामीहरु फेला परे । नेपालमा हालसम्म ३५ जनाभन्दा बढीमा कालो ढुसी संक्रमण भएको पाइएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका नाक-कान-घाँटी रोग विभागका सह-प्राध्यापक डा रवीन्द्रभक्त प्रधानाङ्गको भनाइ छ ।

म्युकरकाइकोसिस (कालाे ढुसी) मेनेजमेन्ट कमिटीका संयोजक समेत रहनुभएका डा प्रधानाङ्ग यो रोग गम्भीर प्राणघातक भएको बताउनुहुन्छ ।

उहाँका अनुसार कालो ढुसी राेग क्यान्सरभन्दा पनि खतरनाक हुनसक्छ । ‘यो रोग एक किसिमको घातक रोग हो । यो  क्यान्सरभन्दा पनि खतरनाक छ । भित्रभित्रै हड्डी कुहिएपछि दुखाइ झनै धेरै हुन्छ । त्यसपछि विरामीको अवस्था नाजुक हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘समयमै आएमा मात्रै अप्रेशन सम्भव हुन्छ । नभए हुँदैन ।’

क्यान्सर राेग समयमै उपचार पाए ठिक हुन्छ ।  कालाे ढुसीको भने समयमै पहिचान र उपचार नभए बिरामीले मृत्यु पर्खनुबाहेक अन्य विकल्प नभएको डा प्रधानाङ्ग बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘यसमा पनि क्यान्सरजस्तै ४ स्टेपको अवस्था हुन्छ । दिमागभित्र पुगेको छैन भने अप्रेशन सम्भव हुन्छ । यसले सुरुमा नाक वा नाकका वरिपरिको भागमा संक्रमण गर्छ र विस्तारै आसपासका अंगहरुका साथै मस्तिष्कसम्मै पुग्छ ।’

यसले विषेशगरी आँखा, नाक, मुखको तालु, दाँत, श्वासप्रश्वास हुँदै पाचन प्रणाली, नाकको भित्री हड्डी हुँदै मस्तिस्कसम्म कुहाउने डाक्टर प्रधानाङ्गको भनाइ छ ।

जस्तोः कालाे ढुसी आँखामा छिरेको छ भने आँखै झिक्नुपर्ने । तालुमा छिरेको भए तालु चिर्नुपर्ने । छालामा संक्रमण भए सबै छाला निकालेर प्लास्टिक सर्जरी गर्नुपर्ने र नाकमा संक्रमण भए नाकभित्रको सबै पार्ट झिकेर भ्वाङ नै पार्नुपर्ने डा. प्रधानाङ्गले बताउनुभयो । टिचिङमा २ जनाको आँखा निकालेर उपचार गरेको उहाँको भनाइ छ ।

यो रोग कोरोना संक्रमण भएर रोग प्रतिरोधात्मक क्षमतामा कमी आएका मानिसहरुलाई लाग्ने सम्भावना बढी भएको उहाँको भनाइ छ । त्यस्तै कोरोनापछि ‘डाइभेटिज अनकन्ट्रोल’ भएका मानिसहरुले तत्काल जचाँउनु पर्ने उहाँ सुझाव दिनुहुन्छ ।

त्यस्तैगरी क्यान्सर भएका मानिसहरुलाई पनि कालो ढुसीको संक्रमण हुनसक्ने उहाँको भनाइ छ । विगतमा वार्षिक ३-४ जनामा देखिने यो रोग कोभिड आएपछि एक महिनामै २०\२५ ओटा केस आएको डा प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार जब मानिसमा कोरोनापछि रोग प्रतिरोधात्मक क्षमता कमी भयाे, यो रोगका संक्रमित पनि बढे ।

छिमेकी मुलुक भारतमा भने याे राेगको अवस्था विकराल रहेको छ । भारतको तुलनामा नेपालमा भने कालो ढुसीको संक्रमण कमै छ । भारतको हावापानीका कारण र त्यहाँको जनसंख्या धेरै रहेकाले पनि संक्रमितको संख्या पनि धेरै भएको डा प्रधानाङ्ग बताउनुहुन्छ ।  नेपालको पनि तराइ क्षेत्रमा यसको संक्रमण अलिक धेरै पाइएको उहाँकाे भनाइ छ ।

प्रस्तुत छ, यसै विषयमा डा. प्रधानाङ्गसँग गरिएकाे कुराकानीः

कालो ढुुसीबारे नेपालमा संक्रमणको अवस्था र उपचार के-कसरी भइरहेकाे छ, यसबाट सजग रहन के गर्न सकिन्छ ?

हाम्रो त्रिवि शिक्षण अस्पतालमा पनि गत जेष्ठ ३ गते पहिलो केस फेला पर्यो । त्यसपछि हालसम्म हामीकहाँ २० जना पुगेका छन् । यसबाहेक अन्य अस्पतालमा पनि यसको उपचार भइरहेको छ । जम्मा गरी नेपालमा यो रोगको संक्रमित लगभग ३५ जनाको हाराहारीमा फेला पर्नुभएको छ । सबैभन्दा बढी तराइ भेगमा फेला परेकाे छ । भारसँगको सीमा तथा मिल्दाेजुल्दाे हावापानी तराइमा हुनाले त्यहाँ बढेको हो ।

काठमाडौं उपत्यकामा भने यसको संक्रमण धेरै कम पाइएको छ । कोभिडकाे लक्षण भएका मानिसमा अनकन्ट्रोल हुनेगरी डाइभेटिज भएको भए,  उसको नाकको वरीपरी कुनै प्रकारको समस्या आयो भने कालो ढुसी हो कि भनी शंका गर्न सकिन्छ ।

कहिलेकाहीँ लक्षणविना नै पनि नाक भित्रभित्रै कुहिएर आँखामा पुगेपछि मात्रै देखिने पनि हुन्छ । सुरुको स्टेजमा चाहिँ गालाको भाग लाटो हुने नाक बन्द हुने, दाँत पनि लाटो हुने, सिरिङ्ग भएको जस्तो हुने लक्षण देखिन्छन् । यो पहिलाे अवस्थामै थाहा भए उपचार सहज हुन्छ र निको पनि हुन्छ ।

अलिक ढिला भायो र संक्रमण बढ्दै गयो भने आँखामा इनभल्व हुन्छ । आँखामा पुग्यो भने आँखा सुन्निने, रातो हुने, विस्तारै आँखा नचल्ने र अलिक पछि गएर आँखा चल्नै छाड्ने हुन्छ ।  त्यस्तैगरी नाकको वरिपरि रातो हुने, घाउ हुने, दाँत लुज हुने, दिमागतिर गयो भने मानिस अन्काउन्सियस (बेहाेस) हुने हुन्छ ।

नेपालमा हालसम्म कतिजना याे राेगबाट प्रभावित भएको तथ्याङ्क छ ? मृत्यु कतिको भयो र कुन-कुन अवस्थाका संक्रमितको उपचार गराउनुभयो ?

त्रिवि शिक्षण अस्पतालमा जेष्ठ ३ गते पहिलो केस फेला परेयता हालसम्म २० जनामा संक्रमण देखिएको छ । जसमा ४० वर्षमुनिका २ जना, ४१ देखि ५० वर्षका ८ जना, ५१ देखि ६० वर्षसम्मका बाँकी । र, २ जना संक्रमितको मृत्यु भएको छ । २० जनामध्ये ११ जनाको अप्रेशनमार्फत उपचार गरिएको छ ।

एकजना अप्रेशन गर्न आवश्यक थिएन । ६ जनाको चाहिँ अप्रेशनबाट पनि सम्भव नभएको अवस्थामा रहेको छ । उहाँहरुको उपचारको अवस्था नै घर्किसकेको छ । उहाँहरुलाई मेडिकल टिममा राखेर अप्रेशनभन्दा बाहिरको स्टेजमा रहेको भनी सम्झाएर डिस्चार्ज गरेका छौँ । उहाँहरुको उपचार नै सम्भव छैन । उहाँहरुको हामी केही समयपछि फलोअप गर्ने सोचमा छौँ । अर्का एकजना अप्रेशन गर्न सम्भव भएको तर अप्रेशन गर्न नमानेको अवस्था छ । उहाँले अप्रेशन गर्न अस्वीकार गर्नुभयो । अर्का एकजना भर्ना हुनुभएको छ । उहाँ उपचाररत हुनुहुन्छ । बाँकी २ जनाको मृत्यु भइसकेको छ । उहाँहरुको उपचार सम्भव थिएन ।

नेपालमा यसको उपचार सेवा तथा निवारणका लागि कस्ता उपचार विधि, प्रविधि, विषेशज्ञ र औषधिको व्यवस्था छ ?

अप्रेशन र विषेशज्ञताको हिसाबले नेपालमा यसको उपचार राम्रो नै छ । शिक्षण अस्पतालबाहेक अन्य प्रदेशमा पनि यसको उपचार व्यवस्था राम्रो छ । प्रदेश- १ मा विराटनगरस्थित नोबेल अस्पतालमा, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, पोखरा, धुलिखेलका साथै काठमाडाैँकै वीर अस्पताल र मेडिसिटीमा पनि यसको उपचार हुन्छ ।

मुख्यगरी यसको उपचारमा औषधि नै प्रभावकारी हो । सिरियल सिक्वेन्सियल एमआर आई गर्नुपर्छ । अस्पताल धेरै बस्नुपर्छ । त्यसका बिरामीलाई चार्ज धेरै लाग्न सक्छ । यसमा चाहिने एम्फोटेरिसिन बी औषधि महंगो हुन्छ । यसको औषधि दिनमा लगभग ७ भाइल लाग्छ । जुन एक भाइलकोे २५ हजार लाग्छ । एक बिरामीको दिनमा झण्डै २ लाखभन्दा बढी पर्छ । फेरि यो झण्डै सबैतिर पाइँदैन ।

त्यसैले एक महिनामा लाखौँलाख खर्च चाहिन्छ । यसले बिरामीमा जटिलता ल्याउँछ । सुरुमा झन हामीलाई यसको उपचारमा चुनौतीपूर्ण अवस्था थियो । धेरै प्रयास हामीले गरेका थियौँ । कालो ढुसीका लागि प्रयोग हुने सेम औषधि कालाजारका लागि भएकाले हामीले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएर सो औषधि प्रयोग समेत गरेका थियौँ । निःशुल्क प्रयोग गरेकाले सहज थियो । तर पछि औषधि सकियो । समस्या भयो ।

तर हामीले वैकल्पिक औषधि ‘पोसाकोनाजोल’ चलाएका थियौँ । यसको साइट इफेक्ट धेरै छ । यद्यपि पछिल्लो समय हामीलाई नेपाल सरकारले एम्फोटेरिसिन बी उपलब्ध गराइरहेको छ  । हामीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत विरामीमा प्रयोग गरिरहेका छौँ ।

सुविधायुक्त अस्पतालको पहुँचबाट टाढा रहेका सर्वसाधारणलाई यो संक्रमण भएमा कस्ता उपाय अपनाउनुपर्ला ? जस्तो कि गाउँघर, दुर-दराजका मानिसहरू यो संक्रमण पाइयो भने ?

अस्पतालबाट टाढा हुनुहुन्छ भने र यो संक्रमण भएको भए केही विकल्प छैन । यसको संक्रमण सुरु भएपछि बिस्तारै भित्र कुहिँदै जान्छ । फंगस भनेको कुहिने भएकाले नै भित्रका ब्लड सर्कुलेशनलाई रोक्छ । त्यो भन्दा भित्रको मांशपेसीमा कुहिन्छ । जसले कुहिने क्रम अझै बढ्छ । त्यसकारण अस्पतालबाहेक अन्य उपचारको विकल्प छैन ।

कालो ढुसीबाट बँच्न सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्क पुनः प्रयोग नगर्ने, नियमित रूपमा हात धुने, धेरै धुलो भएको स्थानमा नजाने, ओसिलो ठाउँमा पनि रोगको सङ्क्रमण हुने भएकाले ओसिलो ठाउँमा नजाने, डाइभेटिज अनकन्ट्रोल भएको र कोरोना संक्रमण भएको मानिसहरुले इएनटी डाक्टरसँग परामर्श गरिहाल्ने ।

तस्वीर : महेश्वर के.सी./न्यूज २४

प्रतिक्रिया दिनुहोस्

LIVE TV