२९ श्रावण २०७८, शुक्रबार
  • मुस्कान श्रेष्ठ,

वीरगञ्ज । कोरोनाको तेस्रो लहर नियन्त्रणका लागि भइरहेको पूर्व तयारीको स्थलगत निरीक्षण गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको टोली वीरगञ्ज आइपुगेको छ ।

सीसीएमसीको प्रमुख बालानन्द शर्मासहितको टोलीले वीरगञ्जमा कोरोनाको तेस्रो लहर नियन्त्रणका लागि भइरहेको पूर्व तयारीको जानकारी लिन वरगञ्ज आइपुगेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

उनले अनुगमन टोलीले तेस्रो लहरको पूर्व तयारीको रुपमा वीरगञ्ज भन्सार परिसरमा करिब २८ करोड रुपैयाँको लागतमा १ हजार क्षमताको निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण गर्नुका साथै सीमा नाकाको अवलोकन समेत गरेको बताए ।

टोलीमा सीसीएमसीका प्रमुख शर्मासहित १० जनाको सहभागिता रहेको थियो । टोलीका एक सदस्य डा भगवान काइरालाले नेपालको भारतसंग खुला सीमा रहेको तथा वरगञ्ज मुलुककै मुख्य प्रवेशद्वार भएकोले संक्रमण फैलिन सक्ने सम्भावना प्रबल रहेको हुँदा सीमा नाकामा कडाई गर्नुपर्ने बताए ।

उनले ठूलो संख्यामा मानिस राख्ने उक्त होल्डिङ सेन्टरमा राम्रो व्यवस्थापन नभए कोरोनाले झन उग्र रुप लिन सक्ने चेतावनी समेत दिए । डा. कोइरालाले आफूहरु वरगञ्ज आउदा बाटोमा एक/दुईजना बाहेक कसैको मुखमा मास्क नभएको बताए ।

उनले यसरी हेलचेत्र्याई हुदा समेत कोरोना संक्रमण नफैलनु पत्याउनै नसकिने भन्दै आफू लगायत सम्पूर्ण टिम आश्चर्य रहेको बताए । उनले केही त पक्कै भइरहेको आशंका गर्दै परीक्षणको दायरालाई अझ बढाउनु पर्ने बताए ।

उक्त टोलीलाई प्रजिअ घिमिरेले पर्सामा जारी खोप कार्यक्रम, कोभिड रोकथामको गतिविधिको बारेमा जानकारी गराए । उनले हाल पर्सामा १८ सक्रिय संक्रमित रहेको बताउदै उक्त संक्रमितमध्ये ३ जना मात्रै आईसीयूमा रहेको जानकारी दिए । उक्त टोली केन्द्र गठनपछि पहिलो पटक वीरगञ्ज आइपुगेको हो ।

उक्त अनुगमन टोलीमा नेपाली सेनाका उपरथी अनन्त कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम खतिवडा, गृह मन्त्रालयका सह सचिव नूरहरि खतिवडा, पर्सा जिल्लाका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष अनिल कुमार अग्रवाललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV